प्राइम खबर संबाददाता | मंसिर १, २०७८ बुधबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले रौतहटको कटहरियामा सम्बोधन गर्ने बिशाल जनसभा कार्यक्रमको तयारी तिब्र रुपमा भइरहेको छ । नेकपा माओवादी केन्द्र रौतहटको आयोजनामा आउदो शनिवार जिल्लाको पुरानो बजारको रुपमा प्रसिद्ध कटहरियामा हुने बिशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने छन् ।
कटहरिया बजारमा हुने कार्यक्रमको तयारी तिब्र पारिएको माओवादी केन्द्रका रौतहट जिल्ला ईन्चार्ज युवराज भट्टराई समिरले बताए । जिल्लाको १८ वटै स्थानीय तहमा समिति गठन गरी प्रचार प्रसार र कार्यकर्ता परिचालन गरेको माओबादी पार्टीले रौतहटको क्षेत्र नम्बर ३ मा उक्त कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायत पार्टीका केन्द्रीय स्तरका नेताहरुले देशको बर्तमान राजनीति र पार्टी नेतृत्वका आगामी एजेन्डा एबम् कार्यदिशाका बारेमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको युबा नेता जेन लामाले बताए । कार्तिक २९ गतेलाई तय गरिको कार्यक्रम अध्यक्ष प्रचण्ड अस्वस्थ्य भए पश्चत उक्त कार्यक्रम सरेर मंसिर ४ गते शनिबारको लागी सारिएको हो ।