प्राइम खबर संबाददाता | मंसिर १, २०७८ बुधबार

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । 


यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले) का सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो  । राईको नेतृत्वमा गत कार्तिक १६ मा नयाँ सरकार गठन भएको थियो । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 



९३ सदस्य रहेको प्रदेशसभामा पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईलाई बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक गरी ४१  सांसद गठबन्धन बाहिर छन् ।