प्राइम खबर संबाददाता | कात्तिक ३०, २०७८ मंगलबार
रौतहट जिल्लाको कटहरिया नगरपालिका स्थित एक बिध्यालयमा १ सय २० जना छात्रालाई साइकल वितरण गरीएको छ ।
सोमबार कटहरिया नगरपालिका ४ स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रमका बीच कटहरीया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहाले १सय२० जना छात्रालाई नगरपालिकाको आर्थिक सहयोगमा साइकल वितरण गरेका छन् ।
प्रदेश २ को ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम प्रदेशमा निकै प्रभावकारी कार्यक्रम बनेपछि उक्त कार्यक्रमको अनुसरण गर्दै नगरप्रमुख कुशवाहाको विशेष पहलमा माध्यमिक तहमा अध्ययनरत कक्षा १० का छात्राहरुलाई साइकल वितरण कार्यक्रमको आयोजना गरिएको नगर प्रवक्ता चन्दन कुशवाहाले बताए ।
जनता माविमा भएको उक्त कार्यक्रममा नगर प्रमुख कुशवाहा,वडा अध्यक्ष एबम् नगर प्रवक्ता चन्दन कुश्वाहा र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले संयुक्त रुपमा उक्त साइकल वितरण गरेका हुन् ।
श्री जनता उच्चमावि कटहरियाका प्राचार्य योगेन्द्र कुश्वाहाको अध्यक्षतामा सम्पन्न साइकल वितरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, शिक्षक तथा विद्यालयका छात्र छात्राहरुको सहभागिता रहेको नगर प्रवक्ता कुशवाहाले बताए ।