प्राइम खबर संबाददाता | कात्तिक १३, २०७८ शनिबार
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका छन् । एकीकृत समाजवादी स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले देशैभरी एकीकृत समाजवादीमा जनलहर बढेको दाबी गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपाली जनतालाई खोप लगाउने व्यवस्था मिलाउने बताउँदै अबको केही दिनपछि १२ वर्ष माथिका बालबालिकालाई खोप लगाउने बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजतन्त्र र भारतसँग साठगाँठ रहेकाले पटक–पटक संसद् विघटन गरेको आरोप लगाएका छन् ।
शुक्रबार नेकपा (एस)को स्याङ्जा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले ओलीलाई यस्तो आरोप लगाएका हुन् । त्यस्तै उनले ओली गलत बाटोमा हिँडेकाले उनलाई सुधार्न धेरै पहल गरेको पनि बताए । उनले भनेका छन्, ‘केपी ओली बालुवा हुन् । उनलाई निचोरेर तेल आउँदैन । उनलाई मान्छे बनाउन खोज्नु नै हाम्रो मुर्खता हो ।’
त्यस्तै ओलीले कोरोना कोषको रकम खर्च गरेर बालुवाटारमा हेलिप्याड बनाएको नेपालले बताए । कोरोनाको कोषको बजेट दुरुपयोग गर्दै हेलिप्याड बनाएको बताउँदै ओली नेतृत्व सरकारले चरम भ्रष्टाचार गरेको उनको भनाइ रहेको छ । निर्मला पन्त लगायतका घटनाका दोषीलाई कारबाही नगरी देशमा अशान्ति पैदा गर्ने केपीले आफू र आफ्ना भक्तबाहेक अरुलाई सम्मान गर्न नजान्ने एबम् भ्रष्टहरुको संरक्षक ओली नै रहेको दाबी नेपालले गरेका छन् ।