प्राइम खबर संबाददाता | कात्तिक १२, २०७८ शुक्रबार
रौतहटमा सिके राउत नेतृत्वको जनमत पार्टीले भष्ट्राचारविरुद्ध प्रदर्शन गरेको छ । सो प्रदर्शनका क्रममा कार्यकर्ता र प्रहरी बिच साझ झडप भएको छ । शुक्रबार साँझ सदरमुकाम गौरस्थित बिपी चोकमा सो पार्टीले मशाल जुलुससहित प्रदर्शन गरेको हो ।
जनमतको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेपछि झडपको स्थिति उत्पन्न भएको हो । झडपमा प्रहरीको लाठी चार्जबाट दर्जनौं कार्यकर्ता घाइते भएको जनमत रौतहटले जनाएको छ ।
डा सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज रौतहटमा नेता तथा कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् ।
वडा देखि नगर हुँदै हेरक स्थानीय तहमा आन्दोलन रहेको र सोही अनुरूप बिरोध कार्यक्रम गरिएको जनमत पार्टीले जनाएको छ । रौतहटमा प्रहरीको हस्तक्षेपका बावजूद पनि कार्यक्रम सफल भएको जनमत पार्टीका जिल्ला अध्यक्ष ज्वाला रणवीर (विवेक) ले बताए ।