प्राइम खबर संबाददाता | असोज १३, २०७८ बुधबार

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आउँदो चैतमा स्थानिय तहको निर्वाचन हुने बताएका छन् । मन्थली नगरपालिका वडा नम्बर १ स्थित बसपार्कमा निर्माण सम्पन्न भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले आउँदो माघमा राष्ट्रिय सभा, चैतमा स्थानीय तह र १५ महिनापछि प्रदेश र संघिय निर्वाचन गर्नका लागि आयोगले कार्यसूची बनाई सकेको बताएका छन् ।
 प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालमा निर्वाचन महँगो हुँदै गएको भन्ने गुनासो बढेकाले निर्वाचन खर्च कम गर्न सबैले आ–आफ्नो ठाउवाट सामाजिक सचेतनाको कार्यक्रम गर्नुपर्नेसुझाएका छन्  । राजनीतिक दलका नेता र नागरिकले नैतिकता र इमान्दारिता देखाए विगतका निर्वाचनमा देखापरेको भड्किलो निर्बाचन प्रचार प्रसार एबम् बिकृतिलाई निस्तेज गर्न सकिने भन्दै सबै नागरिक सचेत हुनु पर्ने बताएका छन् ।
 निर्वाचन प्रणालीकै कारण निर्वाचन महँगो नभएको भन्दै निर्वाचन आचरसहिँता कार्यन्व्यन गराउने जिम्मेवारी नागरीकको समेत भएकोले नागरिकले पनि निर्वाचन आयोगलाई साथ दिनुपर्ने थपलियाको भनाई रहेको छ ।
नब निर्मित निर्बाचन कार्यालय भवनको उद्घाटन गर्दै आयुक्त थपलियाले सबै नागरिकलाई मतदानमा सहभागी गराउनु नै निर्वाचन आयोगको मुख्य चुनौती रहेको समेत बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै थपलियाले मतदानमा सहभागी हुन मतदाता नामावलीमा नाम लेखाउन सबैलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले जो जहाँ बसोबास गरिरहेको छ, त्यहीँबाट मतदाता नामावलीमा नाम समावेश गर्न प्रक्रिया अगाडी बढाइसकेको बताए । 
 सात वर्ष लागेर निर्माण सम्पन्न भएको निर्वाचन कार्यालय भवनलाई तीन करोड ११ लाख ७६ हजार ८सय ७७ रुपैयाँ खर्च लागेको जिल्ला निर्वाचन अधिकारी शम्भु कटुवालले जानकारी दिएका छन् ।