प्राइम खबर संबाददाता | असोज १३, २०७८ बुधबार

हिन्दु सामुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा आज  प्रदेश २ सरकारले महिला कर्मचारीहरुको लागि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले सोमबार एक शुभकामना सन्देश जारी गर्दै  असोज १३ गते बुधबार प्रदेश भरिका महिलाहरुका लागि सार्वजनिक विदा दिईएको जानकारी गराएका छन् ।


मधेशका महिलाहर निष्ठाको साथ जितिया पर्व मनाउने गरेका छन् । मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायूको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्।



सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरी नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् । उनले सबै प्रदेशवासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका छन् ।

मैथिली र थारु समुदायका महिलाले यो पर्ब तीन दिनसम्म मनाउने गर्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।



मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा समेत मानिन्छ । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने प्रचलन रहेको बताइएको छ ।