प्राइम खबर संबाददाता | असोज ११, २०७८ सोमबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैंडाटार स्थित कालापानी सामुदायिक वनमा रोहिणी प्रसाद घोरासैनी झुण्डिएर मृत्यु भएको भनिएको घट्ना सुनुयोजित हत्या रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सोमबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन मार्फत हत्या गर्ने अभियुक्तहरु सार्वजनिक गर्दै प्रहरीले ३ लाख रुपैया दिएर सुनुयोजित रुपमा घोरासैनीको हत्या भएको प्रहरीले जनाएको छ ।
व्यक्तिगत रिसईबिका कारणे गैंडाटार घर भई हालचन्द्रपुर न.पा वडा नं. ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोल प्रसाद वोलखेले पैसा तिरेर हत्या गर्न लगाएको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त हत्यामा संलग्नको आरोपमा प्रहरीले,गैडाटारकै वर्ष ४५ को प्रल्हाद फुंयाल,जिल्ला सिन्धुली पिपलमाडी गाविस वडा नं ९ घर भई हाल जिल्ला पर्सा, पर्सागढी न.पा वडा नं ३ सृजना टोल बस्नेवर्ष २४ को रमेश पहरी र जिल्ला नवलपरासी (पुर्वी) कावासोती न.पा.वडा नं.८ बस्ने.बर्ष २३ को सुर्य बहादुर भण्डारीलाई सार्वजनिक गरेको छ । घट्नाका मुख्य योजनाकार सहदेब भनिने डोल प्रसाद बोलखे भने फरार नै छन् ।
मृतक रोहिणी प्रसाद घोरासैनीको वुवा भिमदत्त घोरासैनी धामीझाक्रीको रुपमा झारफुक गर्ने गरेका र सोहि गाउँका अभियुक्त सहदेव भन्ने डोल प्रसाद बोलखेको घर परिवारका मानिसहरु बिरामी हुने गरेकाले निजले मृतकको वुवालाई नै आरोप लगाई यिनले नै बिरामी पारि दिने गरेको रिसईवी लिई राखेका थिए र २०६३ र २०६४ सालमा समेत पटक पटक मृतकको बुवालाई आक्रमण गरी घाईते समेत बनाएका थिए । घटनाका मुख्य योजनाकार बताइएका सहदेवले गाउँबाट बसाईसराई गरी अन्यत्रै गएको भएता पनि उसको मन मष्तिष्कबाट मृतक घोरासयनीको घर परिवारप्रति रिसिईवी हट्न नसकेपछि रिसईवी साध्नको लागि सोही टोलका अर्का अभियुक्त प्रल्हाद फुयाल संग रोहिणी प्रसाद घोरासैनीलाई मार्नका लागि ३ महिना अगाडी ३ लाख दिने सर्तमा हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
चारजना मिलेर निर्मम हत्या गरि कालापानी सामुदायिक बन क्षेत्रमा रहेको पिरपिरेका सानोे रुखमा गम्छाले मृतकको घाँटीमा बाधि झुण्डाएर आत्महत्या देखाउने प्रयास गरेर उम्कने रणनीति बनाएको तथ्य प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरीको कुकुरसमेत प्रयोग गरेको थियो ।
नियोजित रुपमा भएको घटनाको छानबिन गरी घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न मृतक घोरासैनीकी श्रीमतीले प्रशासन समक्ष माग समेत गरेकी छिन् ।
गत भदौ २६ गते साढे ४ बजेको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं.३ गैडाटार स्थित कालापानी सामुदायिक बन जंगलको झाडी भित्र भएको पिरपिरे रुखको हाँगामा गम्छाको पासोमा सोही वडाको गाछी टोल बस्ने ५० बर्षिय रोहिणी प्रसाद घोरासैनी झुण्डीएको मृत्त अवस्थामा फेला परेपछि मृत्यु शंकास्पद समेत देखिएकोले प्रहरीले अनुसन्धान कार्यलाई तीब्रता दिएको थियो ।