प्राइम खबर संबाददाता | भदौ ३१, २०७८ बिहिबार

नेपाली कांग्रेसको महाधिबेशन नजिकिंदै गर्दा रौतहटमा भने क्रियासील सदस्यको नामावली प्रकाशन नहुँदा औपचारिक रुपमा वडा भेला सुरु हुन सकेको छैन । तर जिल्लाभर अधिवेशनको चहल पहल भने सुरु भैसकेको छ ।


जिल्लामा केन्द्रबाट निर्वाचन अधिकृत नआएकाले कतिपय स्थानमा सहमत्ति भएपनि त्यसले औपचारिकता पाउन सकेको छैन । यद्धपी जिल्लामा आगामि सभापतिको चर्चा भने चुलिएको छ । यसपटक पनि जिल्ला सभापतिका लागि नयाँ नयाँ अनुहार प्रतिस्पर्धी खडा हुने भएका छन् । पुराना प्रतिस्पर्धीहरू भने यसपटक उठ्ने छाटकाट देखिएको छैन ।



१३ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका सभापती कृष्ण प्रसाद यादव र महाताव आलमबिच यसपटक  प्रतिस्पर्धा नहुने भएको हो । यादव पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवानिकट र आलम इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिने उनीहरू आ आफ्नो समुहबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।



अघिल्लो पटक यादवले आलमलाई पराजित गरेका थिए । जिल्लामा संस्थापन पक्ष बलियो रहेको हुँदा संस्थापन पक्षबाट खडा भएका उम्मेदवारलाई जीत हासिल गर्न सहज हुने अनुमान लगाउन सकिन्छ यद्यपि साँच्चै नै बाजी भने कसले मार्ने हो त्यो कौतहलताको विषय बनेको छ ।

 जिल्लाको सभापतिको रूपमा निकै चर्चा परिचर्चा मा आएका छन् संविधानसभा सदस्य समेत रहेका जितेन्द्र यादव सुनिल जिल्लामा अहिले उनकै चर्चा सुन्न सकिन्छ उनी संस्थापन पक्षका बलिया उम्मेदवार मानिन्छन् । अर्का इतर समुहबाट पनि वृन्दावन नगरपालिकाका मेयर समेत रहेका राम स्नेही राय यादव चर्चामा छन् उनीसँगै परोहा नगरपालिकाका मेयर शेख वकिलको नाम पनि गैयागुइया सुनिन लागेको छ । दुवै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिन्छन् । दुई मध्य एक वा सो समुहबाट अन्य एकजना चुनावी प्रतिस्पर्धा मा हुने रौतहट कांग्रेसले जनाएको छ ।

चुनावी प्रतिस्पर्धामा भने को को उठ्नेछन् भन्ने त्यो उम्मेदवारी तय भइनसकेको अवस्थामा चहलपहल भने सुरु भइसकेको छ । आफ्नो पक्षमा बहुमत जुटाउन आन्तरिक कसरतमा लागिपरेका छन् ।  उम्मेदवारको विषयमा इतर समूहका नेताहरु पनि अलमलमा परेको देखिन्छ । रौतहटमा मुख्यतः दुई जना बीच नै प्रतिस्पर्धा हुने छाटकाट देखिएको छ । सिटौला पक्ष र गच्छादार पक्षको खासै पकड़ नभएको हुँदा सो समूहले जिल्ला सभापतिमा उम्मेदवार दिने अवस्था नरहेको कांग्रेस नेता नितेश कुमार गुप्ता बताउँछन् ।



कांग्रेसको राम्रो पकड़ रहेको रौतहट नेपाली कांग्रेसको उर्वरभूमि नै मानिन्छ जिल्लामा अधिकांश स्थानीय तहको निर्वाचन कांग्रेसको नै वर्चस्व रहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ वटा क्षेत्र रहेको रौतहटमा २ क्षेत्रमा कांग्रेसले नै विजयको झण्डा गाडेको हो । जिल्लामा बामपन्थी गठबंधन को दबदबा र तालमेल बीच कांग्रेसलाई यो धरातलमा ल्याउनु रौतहटमा कांग्रेस नेतृत्व सफल भएको उदहारण भएको नेता सूर्यबहादुर थापाले बताए ।