प्राइम खबर संबाददाता | भदौ २६, २०७८ शनिबार
रौतहट जिल्लाको एक सामुदायीक वनमा हत्या भएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ स्थित गैडाटार गाछी टोलका अन्दाजी ५० बर्षिय रोहिनी प्रसाद घोरासाइनीको शनिबार दिउसो हत्या गरिएको अवस्थामा कालापानी सामुदायीक बन क्षेत्रमा शव फेला परेको मृतकका भाई बोधनाथ घोरासइनीले बताए ।
बिहान ८ बजे कालापानी सामुदायिक वनको इलाका प्लट नम्बर ५ मा झाडी फाड्न गएका घोरासैनी गम्साले बाधिएको अबस्था अपरान्ह साढे ३ बजे फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।
गैडाटार मोरङ्ने सडकखण्डको पानी घट्टको पश्चिम क्षेत्रमा घटनास्थल वरपर केही मुठा घास काटिएको र मृतकको शरिरका विभिन्न भागमा रगत देखिएको स्थानियले बताएका छन । घटनाको प्रकृति हेर्दा मृतक घोरासाइनीलाई नियोजित तरिकाले हत्या नै गरिएको हुन सक्ने चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्य सरस्वती खुलालको दाबी रहेको छ । घटना भएको उक्त स्थलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेसहितको टोलीले निगरानी राख्दै थप अनुसन्धानका लागि प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर बोलाइएको जनाइएको छ ।
घटनाको बारेमा अहिले तत्काल अनुसन्धान चलिरहेको हुँदा अनुसन्धानबाट घटनाको यथार्थ पत्ता लगाउने प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए ।