प्राइम खबर संबाददाता | भदौ २६, २०७८ शनिबार
संखुवासभामा भएको मादी हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले छिमेकीलाई पक्राउ गरेको हो।
आरोपित हत्यारा उनीहरूका आफन्तै रहेको प्रहरी स्रोतले बताएको छ। आरोपितले आफूले हत्या गरेको स्वीकार समेत गरेका छन्। यद्यपि अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले आरोपितको नाम भने खुलाएको छैन।
संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँका एकै परिवारका ६ जनाको सोमबार बिहान सामूहिक हत्या भएको थियो। स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको धारिलो हतियार तथा मुंग्रा प्रयोग गरी हत्या गरिएको थियो।
हत्या हुनेहरुमा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वती कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बिभत्स हत्या भएको थियो।