प्राइम खबर संबाददाता | भदौ १८, २०७८ शुक्रबार
रौतहट जिल्लाको एमाले जिल्ला कमिटी पुरै नेकपा एस पार्टीमा समाहित भएको छ । एमाले रौतहटको २०७१ साल मंसिर ६ र ७ गते निर्वाचित जिल्ला कमिटीको बैठकले सर्व सम्मत निर्णय गर्दै नेकपा एसमा समाहित हुने निर्णय गरेको हो ।
शुक्रबार भएको सम्मेलनबाट निर्वाचित जिल्ला अध्यक्ष कमल राय यादव, उपाध्यक्ष नितेषनन्दन मिश्र, सचिव लक्ष्मण रेग्मी, सह सचिवमा मोहम्मद करिमुल्लाहसहितको पुरै टिम समाजवादीमा समाहित भएको सचिव लक्ष्मण रेग्मीले बताए ।
बैठकले २ सय २१ जनाको जिल्ला कमिटी निर्माण गरेको छ । बैठकमा नेकपा एसका प्रदेश अध्यक्ष रामचन्द्र यादव, केन्द्रिय सदस्य तथा संघीय संसदको विकास तथा प्रविधि समित सभापति कल्याणी खड्का, संबिधान सभा सदस्य रामकुमार भट्टराई लगायतको सहभागीता रहेको थियो ।
चन्द्रपुर नगरपालिकाका उपमेयर राम रती चौधरी लगायत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अधिकांसले एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एस पार्टीमा रहेको भनी सनाखत गरिसकेका छन् भने केही जनप्रतिनिधिहरु बाँकी रहेकाहरुले पनि नेकपा एस मा सनाखत गर्ने जनाएका छन् ।
रौतहट माधव नेपालको गृह जिल्ला समेत रहेको हुँदा माधव नेपाल नेतृत्वको नेकपा एस निकै बलियो रहेको छ भने रौतहट एमालेमा सुन्यता आएको सचिव रेग्मीले बताए ।