प्राइम खबर संबाददाता | भदौ ३, २०७८ बिहिबार

पानीका लागि बोरिङ खन्ने क्रममा काठमाण्डाैकाे बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासी बालुवासहित पानीको फोहोरा निस्किएको छ । तीन घण्टादेखि पानी र बालुवासहितको झन्डै ४० फिट अग्लो फोहोरा काठमाण्डौ कपन शिवमन्दिर नजिक निरन्तर छ ।


भुलुक–भुलुक गर्दै चार तले घर जति अग्लो पानीको फोहोरा निस्किएपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरूले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए । 



सूचनापछि घटनास्थल निरीक्षणमा आइपुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिएका छन् । 'काठमाण्डाै उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो', श्रेष्ठले बताए । 

त्रसित स्थानीयवासीको प्रतिक्रियामा उहाँले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताउछन् । कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आकलन गर्न नसकिने जनाए ।  



घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताउँछन्  । 'सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ', उनले बताए। झन्डै एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ रहेको छ । 

फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ । अनौठो फोहोरा हेर्न मानिसको भिड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ । 

कपन प्रहरी चौकी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिएका छन्  । साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उनले जानकारी दिए ।