प्राइम खबर संबाददाता | साउन ३१, २०७८ आइतबार

रौतहटमा आईतबार राति १२ बजेबाट लागि हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयावधि भदौ १५ गतेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विज्ञप्ति जारी गर्दै कोरोना जोखिम कायम नै रहेको र उक्त जोखिमलाई न्यूनीकरण गर्न मन्त्रिपरिषद् बैठकको निर्णय तथा  सीसीएमसी को प्रेस विज्ञप्तिमा उल्लेख भए बमोजिम संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधन सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को असार ७ गरेको निर्णय कार्यान्वयन गरी डीसीसीएमसी रौतहटबाट असार ३० गते भएको निर्णयलाई कार्यान्वयन गर्दै प्रभावकारी बनाउन आवश्यक देखिएकोले निषेधाज्ञा जारी गरिएको बताएका छन् ।


जिल्लामा संक्रमितको संख्यामा केही कमी आएतापनि दोश्रो लहरको संक्रमणको कारण हालसम्म ५३ जनाको ज्यान गइसकेको हुँदा स्वास्थ्य मापदण्डको कडाइ का साथ पालना गर्दै सर्वसाधारण जनताको स्वास्थ्य हितलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 
पछिल्लो समय जिल्लामा बढ्दो भिडभाड र चहलपहल कारण संक्रमणको त्रास उच्च रहेको स्थानीयहरुको परेको छ । हाटबजार,भेला,समारोह,जुलुस लगायतका क्रियाकलाप निरन्तर हुँदै आइरहेकोमा अब सो कार्य तत्काल बन्द गर्न गराउन प्रशासनले निर्देशन गरेको छ ।
केही दिन अघि चन्द्रपुर ८ सन्तपुर स्थित  निजी विद्यालय न्यू  झरना सेकेण्डरी स्कूलले  स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै एस ई ई दिएर उत्तीर्ण विद्यार्थीहरु तथा अभिभावक भेला गरी कार्यक्रम गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । 
जारी निषेधाज्ञाको पूर्ण पालना गरि स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै कार्यसम्पादन गर्न गराउनको लागि विभिन्न निकाय सँग सहयोग गरिदिन आग्रह समेत गरिएको छ ।



तोकिएको निषेधाज्ञा पालना नगर्ने, आदेशको उलंघन गर्ने गराउने जो कोहीलाई कानूनी कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।