प्राइम खबर संबाददाता | असार २१, २०७८ सोमबार
रौतहट - मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा विपन्न परिवारलाई राशन,खाद्यान्न सहयोग गरिएको छ । सोमबार जिल्लाको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुरमा रहेको सो संस्थाको प्रदेश कार्यालयमा सोही संस्थाको प्रदेश संयोजक पूजा पाठक तिमल्सिनाको पहलमा गरीब तथा विपन्न परिवारलाई सहयोग गरिएको हो ।
कोरोना महामारीको समयमा मुलुकमा जारी निषेधाज्ञाको कारण दैनिक ज्यालादारी गर्दै जीविकोपार्जन गर्दै आएकाहरु लक डाउन का कारण अन्यत्र ज्यालादारी गरी कमाउन नसकेर घरमा राशन सकिएर कन्तबिजोग भएका परिवारलाई सामाजिक अभियन्ता पूजा पाठक तिमल्सिनाले सहयोग गरेकी हुन् ।
एकातर्फ निषेधाज्ञा र केही दिनदेखि परेको अविरल पानीका कारण फुसको घरमा समेत क्षति पुगेका चन्द्रपुर ६ निवासी सुईरे पहरीलाई कसैको पनि सहयोग नपुगेपछि गरीब तथा अति नै विपन्न पहरीको परिवारलाई संयोजक तिमल्सिनाको सहयोग पुगेको हो । पहरी सँगै चन्द्रपुर ५ निवासी टीकाराम विश्वकर्मा लाई पनि संयोजक तिमल्सिनाले खाद्यान्न सामग्री सहयोग गरेकी छिन् ।
सामाजिक कार्यमा निकै नै सक्रिय रूपले लागिपरेकी तिमल्सिना लक डाउन को कारण दैनिक ज्यालादारी गर्ने मजदुर एबम् विपन्न परिवारका लागि सकेको सहयोग गर्ने र उनीहरुलाई परेको खण्डमा सहयोग गर्न आफूहरु अहोरात्र लागिपरेको तिमल्सिनाको भनाइ रहेको छ । मंगलबार चन्द्रपुर वडा नम्बर एक स्थित पौराई जरुवा गाउँमा रहेका विपन्न परिवारको लागि समेत केही राशन सहयोग गर्ने लक्ष्य रहेको संयोजक तिमल्सिनाको भनाइ रहेको छ ।
सोमबार राशन सहयोग कार्यक्रमममा संस्थाकी गोमा राई, पवित्रा परियार, सञ्चारकर्मी सुब्बा कार्की, लगायतको उपस्थिति रहेको महिला अधिकारकर्मी तथा मेची महाकाली बुहारी संयुक्त आवाजका रौतहटकी सचिव गोमा राईले जानकारी दिएका छन् ।