न्यूज डेस्क | चैत २०, २०८२ शुक्रबार

रौतहट  परीक्षाको मर्यादा विपरीत कार्यमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला रौतहटको गरुडा नगरपालिका वडा नं. ४ स्थित गरुडा बजारबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार, विभिन्न विद्यालयमा परीक्षा दिइरहेका विद्यार्थीहरुलाई लक्षित गरी ह्वाट्सएप ग्रुपमार्फत परीक्षा केन्द्रबाट प्रश्नपत्र लिक गर्ने र त्यसका उत्तरहरू मोबाइल फोनमार्फत अनलाइन पठाउने कार्य भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



पक्राउ पर्नेहरूमा रौतहट गरुडा नगरपालिका वडा नं. ७ निवासी उमेश पटेलका १८ वर्षीय छोरा चन्दन पटेल, वृन्दावन नगरपालिका वडा नं. ७ निवासी जितनारायण प्रसाद पटेलका २० वर्षीय छोरा रोहित कुमार पटेल, तथा सर्लाही बलरा नगरपालिका वडा नं. ८ निवासी उमेश साहका १८ वर्षीय छोरा धिरज साह रहेका छन्।



उनीहरूलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ।

प्रहरीले परीक्षाको मर्यादा कायम राख्न यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराएको छ।