प्राइम खबर संबाददाता | जेठ १७, २०७८ सोमबार

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१० स्थित पोखरी टोलमा शनिबार राती जंगली हात्ती पसेर चारवटा घर भत्काएको छ । श्याम माया मगर, पहल मान मोक्तान, नुरुल अन्सारी र देब लाल डिम्डुङको घर भत्काएको हो । यस्तै तामाङ आर्यघाटको लामा बस्ने टहरोलाई समेत हात्तिले भत्काईदिएको स्थानीय बासिन्दाले बताएका छन् ।पूर्व–पश्चिम राजमार्गदेखि उत्तर पोखरी टोलमा तीनवटा हात्तिको समूह राती आएको थियो । हात्ति आएपछि गाउँलेहरु भागाभाग भएका समेत थिए । हात्तिले ४ वटा घर भत्काए र घरभित्र भएको अन्न खाएपछि रातभर जागराम बस्नु परेको स्थानीय संचारकर्मी उदय पाख्रीनले बताए। ति हात्तीहरु विगत एक महिनादेखि बागवानी केन्द्रको जंगलमा बस्दै आएका थिए। सोहि हात्ती केही दिनअघि हरिवन नगरपालिका–१ को चुरे क्षेत्र हुँदै पश्चिम लागेको थियो । तर स्थानीयको अवरोध पश्चात पुनः लालबन्दीतर्फै फर्किएको बताइएको छ। प्रहरीका अनुसार यसअघि पटक–पटक आएको हात्तिहरुको समूह भन्दा यी तीनवटा हात्ति तुलनात्मक रुपमा संयमित देखिएको छ। तर यी हात्तिले हालसम्म मानववीय क्षति भने नगरेको प्रहरीले जनाएको छ। यस्तै हरिवनमा हात्तिले घर भत्काएर भित्र रहेको सबै अनाज खाएको छ। स्थानीयले होहल्ला गर्दै कराउन थालेपछि हात्तिले भाग्ने क्रममा घर भत्काउने गरेको विज्ञहरु बताउँछन् । जंगली हात्तिले पटक–पटक घर भत्काएर क्षति पुर्याउँदा समेत सम्बन्धित निकायले वेवास्ता गरेको स्थानीय बासिन्दाहरुले गुनासो रहेको छ ।