प्राइम खबर संबाददाता | पुस ५, २०८२ शनिबार
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा देव प्रसाद तिमल्सिनाको नाम सिफारिस गरिएको छ।
नेपाली कांग्रेसको केन्द्रीय परिपत्र तथा विधानअनुसार क्षेत्रीय तहमा भएको छलफल, सुझाव र निर्णयका आधारमा लोकप्रियताको मापदण्डलाई मुख्य आधार मानी तिमल्सिनालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि तथा स्थानीय तहका अगुवा नेता–कार्यकर्ताहरूको व्यापक समर्थनका साथ उनको नाम सिफारिस गरिएको बताइएको छ।
स्थानीय तहमा संगठन मजबुत बनाउने, जनसम्पर्कमा सक्रिय रहने तथा विकास निर्माणका विषयमा स्पष्ट दृष्टिकोण राख्ने नेताका रूपमा परिचित तिमल्सिना यसअघि पनि दुई पटक प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित भइसकेका अनुभवी नेता हुन्। संसदमा रहेर उनले रौतहटको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयमा निरन्तर आवाज उठाउँदै आएका थिए।
पार्टीभित्र मात्र नभई आम मतदातामाझ पनि राम्रो छवि बनाएका तिमल्सिनालाई पुनः उम्मेदवारका रूपमा अघि सार्दा यसअघि जित्दै आएको सिट जोगाउन सकिने अधिकांश नेता तथा कार्यकर्ताहरूको विश्वास रहेको स्रोतले जनाएको छ। रौतहट–४ मा कांग्रेसको पकड कायम राख्न अनुभवी र लोकप्रिय उम्मेदवार आवश्यक रहेको निष्कर्षसहित तिमल्सिनाको नाम क्षत्रिय समितिले सिफारिस गरिएको बताइएको छ। यद्यपि उनीसँगै क्रमश पवन कुमार राय यादव र मिश्रुन खातुनको नाम पनि सिफारिसमा परेका छन्।
नेपाली कांग्रेस रौतहटका नेताहरूले यस पटकको निर्वाचनलाई अत्यन्त महत्वपूर्ण ठान्दै पार्टीभित्र एकता कायम गरी सशक्त रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी भइरहेको बताएका छन्। पार्टी नेतृत्वले क्षेत्रीय सिफारिसलाई सकारात्मक रूपमा लिने विश्वास समेत व्यक्त गरिएको छ।
अब अन्तिम निर्णय नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गर्नेछ। सिफारिस अनुमोदन भएमा देव प्रसाद तिमल्सिना तेस्रो पटक प्रतिनिधि सभा सदस्य बन्ने दौडमा रहनेछन्।
५६ सालको निर्वाचनमा कोइरालाको विरासत भन्दै विगतमा प्रकाश कोइरालाले यस क्षेत्रबाट चुनाव जितेर गएपछि उनी आफ्नो क्षेत्रमा फर्केर समेत नआएपछि कमजोर बनेको कांग्रेसले रौतहट ४ मा नेता तिमल्सिनाको आगमनसँगै पार्टी संगठनमा सुधार हुँदै निर्वाचनमा समेत सफलता प्राप्त गर्दै आएको छ।