प्राइम खबर संबाददाता | मंसिर २, २०८२ सोमबार
रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमती किनारमा प्रत्येक वर्षझैँ लाग्ने बाला चतुर्दशी (औँसी) मेलामा अवैध जुवातास तथा लंगुर बुर्जा जस्ता गतिविधि रोक्न प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयन गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार मंसिर २ गते राति सम्म चल्ने मेलालाई लक्षित गर्दै पर्याप्त संख्यामा प्रहरी परिचालन गरिने भएको छ।
सन्तपुर र जंगलसैया मेलामा सफल नियन्त्रणपछि प्रहरी अझै सतर्क
यसअघि रौतहटकै सन्तपुर मेलामा खुलेआम सञ्चालन हुँदै आएको जुवा (लंगुर बुर्जा) प्रहरीको सक्रियतापछि रोकिएको थियो। त्यस्तै हालै गुजरा–३ स्थित जंगलसैया मेलामा पनि जुवा जन्य गतिविधिको प्रवर्द्धनमा पूर्ण रूपमा रोक लागिएको छ। यी अनुभवले बागमती औँसी मेलामा सुरक्षा व्यवस्थालाई झनै कडाइका साथ लागू गर्न प्रेरित गरेको डीएसपी लाबुङ बताउँछिन्।
औँसी मेलाको आवरणमा घर–घरमा जुवा खेलाउने सम्मको तयारी
स्थानीय स्रोतका अनुसार मेलाको भीड र “बत्ती बाल्ने” परम्परागत संस्कारलाई आवरण बनाएर बागमती क्षेत्रका केही निजी घरहरूमा कौडा, तास, डाइस लगायतका जुवा खेलाउने गोप्य तयारी भइरहेको आशंका गरिएको छ। प्रहरीका अनुसार यस्ता गतिविधिमा संलग्न हुनेहरू विरुद्ध कडा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।
यसको निम्ति प्रहरीले समेत विशेष सुरक्षा व्यवस्था अपनाएको बताएको छ।
मेलास्थल वरपर मोबाइल प्रहरी टोली, plain-clothes (सादा पोशाक) प्रहरी निगरानी, रातिको भीड व्यवस्थापनका लागि अतिरिक्त बल व्यवस्थापन, मेलामा आउने तीर्थालु एवं सर्वसाधारणलाई लक्षित सुरक्षा गस्ती, शंकास्पद घर–घरमा विशेष अनुगमन लगायतको नीती अवलम्बन गर्ने तयारी रहेको बागमती प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कमलेश मण्डलले बताए ।
चन्द्रनिगाहपुरका डीएसपी लाबुङ्का अनुसार, “धार्मिक मेलाको आवरणमा अवैध जुवा सञ्चालन गर्न खोज्ने कुनै पनि समुह वा व्यक्तिलाई छुट दिइने छैन। मेलामा सहभागी सबैको सुरक्षाका लागि प्रहरी पूर्ण रूपमा सजग र सक्रिय रूपमा तैनाथ छ।”
तीर्थालुहरूको सुरक्षा प्राथमिकतामा
बती बालेर पूर्वजका आत्माको शान्तिको कामना गर्ने धार्मिक पर्व बाला चतुर्दशीका कारण बागमती किनारमा हजारौँ भक्तजन भेला हुने गर्दछन्। भीड व्यवस्थापन, ट्राफिक नियंत्रण, दुर्घटना न्यूनीकरण तथा हिंसात्मक घटनाको रोकथामलाई प्राथमिकता दिँदै प्रहरी टोली निरन्तर गस्तीमा रहने बताइएको छ।
बागमती औँसी मेलामा धार्मिक वातावरण कायम राख्दै अवैध गतिविधिलाई पूर्ण रूपमा निषेध गर्ने प्रतिबद्धता प्रहरी प्रशासनले जनाएको छ।