प्राइम खबर संबाददाता | मंसिर २, २०८२ सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाबिरुद्ध मुद्धा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सेवा प्रवेश गरेको दाबीसहित विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।


आयोगका भनाइ अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र प्रस्तुत गरी विद्यालयमा प्राथमिक तहकी शिक्षिका रुपमा नियुक्ति प्राप्त गरेकी थिइन्।



अनुसन्धानपछि सो प्रमाणपत्र जाली एवं मनगढन्ते रहेको ठहरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। निरौला विसं २०५५ मा अस्थायी रूपमा नियुक्त भई २०७५ चैत २८ गते स्थायी कर्मचारी बनेर निरन्तर सेवा गरिरहेको आयोगले जनाएको छ।

नक्कली शैक्षिक योग्यताको आधारमा सरकारी सेवा तथा तलब–भत्ता सहितका सुविधा प्राप्त गरेको अभियोगमा आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (९) अनुसार कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेको हो।