न्यूज डेस्क | कात्तिक २२, २०८२ शुक्रबार
रौतहटको चन्द्रपुर नगरपालिका–८ अन्तर्गत सन्तपुर क्षेत्रमा हरेक वर्षझैँ यस वर्ष पनि सन्तपुर मेला तथा समाचकेवा महोत्सव कात्तिक १९ गतेदेखि २८ गतेसम्म भव्यताका साथ आयोजना हुने भएको छ । आयोजक समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
यस महोत्सवमा विशेषगरी रातभरि मेला संचालन हुने भएकाले सुरक्षा व्यवस्थाप्रति स्थानीयवासीले चिन्ता प्रकट गरेका छन् । जेन्जि आन्दोलन (भदौ २४) पछि उत्पन्न सुरक्षा संवेदनशीलता तथा मनोवैज्ञानिक प्रभाव अझै मेटिन बाँकी रहेको भन्दै, रातभरी चल्ने मेला व्यवस्थापनमा कानून–व्यवस्था बलियो हुनुपर्ने स्थानीयको माग छ ।
त्यसैगरी जुवा तथा जुवा जस्तै प्रकारका अवैध मनोरञ्जनजन्य खेलहरू रोकथामको सवाल पनि महत्त्वपूर्ण विषय बनेको छ । भर्खरै मात्र रौतहटमा पदस्थापना भएका जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीलाई स्थानीयले यस मेलालाई नै ‘पहिलो ठूलो परीक्षा’ को रूपमा हेरेका छन् ।
अघिल्ला वर्षहरूमा लुकेर जुवा, पासा, लटरी आदि प्रकारका गतिविधि संचालन हुने गरेको भएतापनि प्रहरी सक्रियता पश्चात् रोक लाग्दै आएको थियो । त्यसैले यस वर्ष यी गतिविधि शून्य सहनशीलता साथ रोक्नुपर्ने अपेक्षा पनि बढिरहेको छ ।
प्रहरी तर्फबाट भने सुरक्षा व्यवस्थालाई ‘उच्च प्राथमिकता’ बनाएर आवश्यक बल, गस्ती, सादा पोशाकमा निगरानी, र CCTV बिन्दुहरूमा समन्वय गर्दै अघि बढ्ने तयारी भएको पनि बताइएको छ ।
आयोजक समितिका अनुसार कार्यक्रमलाई सभ्य, भव्य तथा अनुशासित तरिकाले सम्पन्न गरिनेछ । स्थानीय संस्कृतिको संरक्षण, चाडपर्वमा नागरिकको सामूहिक सहभागिता, तथा उत्सवमय वातावरण निर्माण नै प्राथमिक मुल्यांकन रहेको आयोजक समितिले बताएको छ ।
यसरी, उत्साह र सतर्कता दुवैको बीचमा सुरु हुन लागेको सन्तपुर मेला/महोत्सव सुरक्षा र शुशासनको समन्वय कत्तिको प्रभावकारी हुन्छ भन्ने दृष्टिकोणले पनि यस पटकको मेलालाई निकै महत्वपूर्ण मानिएको छ।
मेलाको स्थानीय स्तरमै उत्पादित वस्तुहरुको अवलोकन, बिक्री वितरण र आय आर्जनमा समेत थप टेवा पुर्याउने लक्ष्य रहेको छ। यो वर्षको मेलामा विविध साँस्कृतिक कार्यक्रमहरु सञ्चालन सहित मनोरञ्जनका सामग्रीहरूको समेत उचित व्यवस्था गरिएको वडा अध्यक्ष जितेन्द्र चौधरीले बताएका छन् ।