प्राइम खबर संबाददाता | कात्तिक १७, २०८२ आइतबार

काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाह फेरि विवादमा परेका छन् । राजधानीका अधिकांश जनताले आशा र भरोसा राखेका मेयर शाह आफ्नै अशोभनीय हर्कतका कारण चर्को आलोचनाको घेरामा आएका हुन् । बालेनबाट निकै आशावादी बनेकाहरु निराश बनेका छन् भने बालेनलाई सक्न अनेकन षडयन्त्र गरिरहेका भ्रष्ट पार्टी र नेताहरुमा खुसियाली छाएको छ ।


गएराति सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको एक स्टाटसले व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ । उक्त स्टाटसमा भारत, चीन र अमेरिकालगायत देशलाई अश्लील शब्द प्रयोग गरेर गाली गरिएको थियो । त्यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको नामसमेत उल्लेख गर्दै उनले अपशब्द प्रयोग गरेका थिए । “तिमीहरू सबै मिले पनि के गर्न सक्दैनौं” भन्ने वाक्यांशसहितको उक्त स्टाटस उनले केही समयमै हटाएका थिए ।



हालै बालेन शाह नयाँ राजनीतिक दल खोल्ने कि रास्वपाबाटै राजनीति गर्ने भन्ने विषयमा दोधारमा रहेको चर्चा भइरहेका बेला उनले रास्वपाको नामसमेत अपमानजनक ढंगले उल्लेख गरेपछि रास्वपासँग पनि उनको दूरी बढेको अड्कलबाजी गरिएको छ ।

फेसबुकमा गरिएको उक्त टिप्पणीले सामाजिक सञ्जालभर तीव्र आलोचना भड्काएको छ । धेरैले सार्वजनिक पदमा रहेका व्यक्तिले मर्यादाको ख्याल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आलोचकहरूका अनुसार, जिम्मेवार पदमा रहेका व्यक्तिबाट अशोभनीय अभिव्यक्ति देशको प्रतिष्ठासँग पनि जोडिन्छ, र यस्तो व्यवहार लोकतान्त्रिक संस्कार विपरीत रहेको टिप्पणी गरिएको छ ।