न्यूज डेस्क | असोज १४, २०८२ मंगलबार

काठमाडौं । आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रा लगायतका पशु चौपायाको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ ।


चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफैँमा खराब नभएपनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको भनाइ छ ।



खानपिनमा ध्यान नदिँदा दशैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने,युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने सिभिल ह्यूमन अस्पताल चन्द्रनिगाहपुरका कन्सल्टेन्ट जेनरल फिजिसियन डा.ए.के.यादबले बताए ।

उनका अनुसार एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा हुने गरेको छ । बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान उनको सुझाव छ । उनका अनुसार मासु पोलेर र तारेर खाँदा बढी असर गर्छ । मासु खाएपछि सागसब्जी, गेडागुडी, फलफुल पनि पर्याप्त खानुपर्छ ।



शाकाहारीले पनि धेरै मिठाइ, पनिर जस्ता वस्तु खान नहुने उनले बताए । यस्तै कम्तीमा चार घण्टाको फरकमा मात्रै खानेकुरा खान चिकित्सकहरुको सुझाव छ ।