न्यूज डेस्क | असोज ३, २०८२ शुक्रबार

रौतहट। नेकपा एमाले रौतहट जिल्ला कमिटीको आयोजनामा संविधान दिवसको अवसरमा गौरस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।


संविधान दिवस २०७२ को स्मरणमा प्रत्येक वर्ष असोज ३ गते देशभर विभिन्न कार्यक्रम हुँदै आएको छ । सोहीअनुसार यस वर्ष पनि नेकपा एमाले रौतहट जिल्ला कार्य समितिद्वारा पार्टी कार्यालयको प्राङ्गणमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।



कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले रौतहट जिल्ला इन्चार्ज तथा क्षेत्र नं. १ का संघीय सांसदका प्रत्यासी आदरणीय अजय कुमार गुप्ता रहेका थिए भने जिल्ला अध्यक्ष सचितानन्द साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका वक्ताहरूले संविधान निर्माण र जारी गर्ने प्रक्रियामा नेकपा एमालेले खेलेको ऐतिहासिक र निर्णायक भूमिकालाई स्मरण गर्दै जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको उल्लेख गरे । उनीहरूले संविधानले देशलाई एकता, समावेशीता र समानतामा बाँधेको भन्दै यसलाई कार्यान्वयनमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी नेपाली काँग्रेसले पनि जिल्ला पार्टी कार्यालय गौरमा एक कार्यक्रमको आयोजना गरी संबिधान दिबस मनाएको छ ।