न्यूज डेस्क | भदौ ११, २०८२ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार लामिछानेको तर्फबाट दिइएको मुद्दा बुधवार न्यायाधीश सागर विष्टको इजलासमा परेको थियो ।


अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको र कैफियत प्रतिवेदन माग भएको जानकारी दिए ।



सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । यसअघि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहितको मुद्दा अस्वीकार भएसँगै लामिछाने उच्च अदालत पुगेका हुन् । जिल्ला अदालतले बिगोलाई आधार मान्न नसकिने भन्दै उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।

आज निवेदनमाथिको प्रारम्भिक सुनुवाइसँगै जिल्लाको मिसिल माग भएको हो । उच्च अदालतले मिसिल माग गरेपछि एक साता भित्रमै त्यो आइपुग्ने र अर्को बहस हुने कुँवरले बताए ।