अर्जुन तिमल्सिना।
रौतहट चन्द्रपुर नगर उद्योग वाणिज्य संघले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत संघ र संघका अध्यक्षको नाम जोडेर कपोकल्पित र भ्रामक श्रव्यदृश्य सामग्री प्रसारण भई त्यसमा आएका नकारात्मक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यापारिक बैंक हिसाब गर्ने पवित्र संस्था र संघका अध्यक्षलाई बदनाम गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रामक प्रचार प्रसार गरिएको ठहर गर्दै त्यसप्रति घोर आपत्ति जनाएको हो। “संघलाई नजिकबाट नचिनेका कतिपय व्यक्तिहरूले असत्य, तथ्यविहीन र कपोकल्पित कुरा फैलाइरहेको देखिएको छ, जसले संस्थाको गरिमा गिराउने काम भएको छ,” विज्ञप्तिमा उल्लेख छ।
संघले भवन निर्माण कार्यमा सहयोगी व्यापारी, शुभेच्छुक र संघसँग आबद्ध व्यक्तिहरू निरन्तर रूपमा सहयोग गर्दै आएको उल्लेख गर्दै, कसैले एकपक्षीय रूपमा असत्य सूचना फैल्याउन खोज्नु दुःखद् भएको बताएको छ। संघका अनुसार भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र आवश्यक प्रक्रिया पूरा गर्न केही समय लाग्ने अवस्था छ।
यस्तै, संघले हालै उठाइएका शुल्क र कर सम्बन्धी गलत बुझाइका कारण कतिपयले संघ र अध्यक्षमाथि अनावश्यक आरोप लगाइरहेको स्पष्ट पारेको छ। “सामान्य प्रशासनिक कार्यलाई आधार बनाएर गरिएको आरोप केवल संस्थाको छवि धुमिल बनाउने नियतले गरिएको हो,” संघले जनाएको छ।
संघका निवर्तमान सह कोषाध्यक्ष समेत रहेका कोकाकोला व्यापारी सुनिल कुमार चौधरीले अध्यक्ष सापकोटामाथि अनेक धावा बोल्दै विभिन्न आरोप लगाएका थिए। भ्रामक अभिव्यक्ति दिएका चौधरी लाई लक्षित गर्दै संघले आफ्ना सदस्य र सम्पूर्ण व्यापारीलाई यस्ता भ्रामक समाचार वा सामाजिक सञ्जालमा आएका असत्य सामग्रीप्रति विश्वास नगरी संस्थाको आधिकारिक जानकारी मात्रमा भर पर्न आग्रह गरेको छ। साथै, कुनै असत्य, कपोकल्पित र भ्रम फैलाउने गतिविधि दोहोरिए कानूनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।
संघका अध्यक्ष उदयनारायण सापकोटा (सुरेन) र महासचिव दिवाकर सापकोटाले हस्ताक्षरित विज्ञप्तिमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघ सम्पूर्ण व्यापारी तथा व्यवसायीको साझा अभिभावक संस्था भएको र यसलाई कमजोर बनाउन खोज्ने प्रयास असफल हुने स्पष्ट उल्लेख छ।
