प्राइम खबर संबाददाता | भदौ ५, २०८२ बिहिबार
रौतहट । चन्द्रपुर नगरपालिकाले मिति २०८२ भदौ ३ गते सार्वजनिक गरेको घर/भवन अभिलेखिकरण गर्नुपर्ने भन्ने सूचना प्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) चन्द्रपुर नगर समितिले गम्भीर आपत्ति जनाउँदै आज एक ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा प्रति वर्गफुट ८ रुपैयाँ दरले अभिलेखिकरण शुल्क लिने निर्णय गरिएको छ । सो निर्णयलाई जनविरोधी भन्दै रास्वापाले तत्काल फिर्ता लिन नगरपालिकालाई आग्रह गरेको हो । पार्टीले एक वर्षको समय सीमा तोकी, प्रति वर्गफुट १ रुपैयाँ मात्र लिनुपर्ने र जरिवाना लिन नपाउनुपर्ने आफ्नो अडानलाई पुनः दोहोर्याएको छ ।
नगर प्रमुख सञ्जय कुमार काफ्ले समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रममा रास्वापामा आवद्ध सदस्यहरू, पदाधिकारीहरू, शुभेच्छुक तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै रास्वापा नगर सभापति उदय नारायण सापकोटा (सुरेन) ले नगरपालिकाले बिचौलियाको उक्साहटमा लागेर जनविरोधी निर्णय गरेको आरोप लगाउँदै तत्काल सच्याउन चेतावनी दिएका छन् ।
सभापति सापकोटाले भने, “नगरपालिकाले जवरजस्ती आम नगरवासीमाथि थोपरेको यो निर्णय अस्वीकार्य छ । यदि तत्काल सच्याइएन भने रास्वापा जनताको पक्षमा सडकमा उत्रन बाध्य हुनेछ।”
नगरपालिकाले भने जारी सूचना अन्तिम मौका भएको भन्दै १ महिनाभित्र सबैले अभिलेखिकरण सम्पन्न गर्नुपर्ने स्पष्ट पारेको छ । तर रास्वापाले यो समयसीमा र शुल्क दुवै अन्यायपूर्ण भएको भन्दै आन्दोलनको तयारी गरेको जनाएको छ ।
यसरी नगरपालिकाको अडान र रास्वापाको चेतावनीबीच चन्द्रपुरको स्थानीय राजनीति थप तातेको छ । अब नगरपालिकाले आफ्नो निर्णय सच्याउँछ वा आन्दोलनको स्थिती निम्तिन्छ भन्ने प्रश्नले स्थानीयवासीको चासो बढाएको छ ।