न्यूज डेस्क | भदौ ५, २०८२ बिहिबार
रौतहट । किरात देवास राई उत्थान समाज नेपाल जिल्ला कार्यसमिति रौतहटको चौथो जिल्ला अधिवेशन चन्द्रनिगापुरस्थित होटल हिमालयनमा भव्यताका साथ सम्पन्न भएको छ। बिहीबार आयोजित अधिवेशनको प्रमुख आतिथ्य किरात राई उत्थान समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष श्याम राईले गरेका थिए।
कार्यक्रम जिल्ला अध्यक्ष नीमबहादुर राईको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूमध्ये आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रौतहटका अध्यक्ष नरेन्द्र राना मगर, देवास राई उत्थान समाज समिति मकवानपुरका उपाध्यक्ष लव राई, थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष जगन्नाथ चौधरी, मगर संघ नेपाल जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष शेरबहादुर थापा, चन्द्रपुर नगरपालिका–३ का वडा सदस्य जितेन्द्र राई , रितबहादुर राई, किरात देवास राई उत्थान समाज नेपाल जिल्ला कार्यसमिति रौतहटका सल्लाहकार फुलचन राई तथा स्थानीय बुद्धिजीवी मङ्गल राईलगायत उपस्थित थिए।
अधिवेशनले वर्तमान अध्यक्ष नीमबहादुर राईकै नेतृत्वमा रहेको पुरानै कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको छ। यसै क्रममा कार्यक्रमका वक्ताहरूले राई–दनुवार समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण एवं उत्थानका लागि स्थानीयदेखि संघीय सरकारसम्म तीनै तहका सरकारहरूले विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले विशेष गरी आफ्नो जातीय अस्तित्व र पहिचानलाई सुरक्षित राख्न देवास राई समुदाय एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए। उनीहरूले समाजलाई अझ संगठित गर्दै आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए।
अधिवेशनमा सहभागिताले राई समुदायको सामाजिक एकता, संस्कृतिको संरक्षण र भावी दिशाबारे महत्त्वपूर्ण छलफल भएको आयोजक समितिले जनाएको छ।