प्राइम खबर संबाददाता | साउन ३२, २०८२ शनिबार

रौतहट । लामो समयदेखि केन्द्र र प्रदेशमा आवद्धता पाउन नसकेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघले अन्ततः सिफारिस पाएको छ । रौतहट उद्योग वाणिज्य संघको सिफारिस नपाएकै कारण विगत १० वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय र मधेश प्रदेश उद्योग वाणिज्य संघमा आवद्धता हुन नसकेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघले यसपालि ठूलो उपलब्धि हासिल गरेको हो ।


रौतहट उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष रवीन्द्रनाथ गोपालीले बोलेको बाचा पूरा गर्दै आवश्यक सिफारिस उपलब्ध गराएपछि अब चन्द्रपुर संघलाई महासंघमा औपचारिक रूपमा समावेश हुने बाटो खुलेको छ ।



सिफारिस पत्र हस्तान्तरण कार्यक्रममा चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले अध्यक्ष गोपालीप्रति धन्यवाद ज्ञापन गर्दै भने, “हाम्रो संघ विगत एक दशकदेखि आवद्धता विहीन अवस्थामा रहँदै आएको थियो । यसले संघको गतिविधि विस्तार गर्न कठिनाइ भएको थियो । तर, अध्यक्ष गोपालीज्यूले वाचा पूरा गरेर अब हामीलाई केन्द्र र प्रदेशमा जोड्ने बाटो खोलिदिनुभयो । हामी उहाँलाई हार्दिक आभार व्यक्त गर्दछौं।”

चन्द्रपुर संघले यसअघि संघीय र प्रादेशिक निकायहरूसँग सहकार्य गर्न नसक्दा व्यापारी हितका आवाजलाई बलियो ढंगले प्रस्तुत गर्न कठिनाइ हुँदै आएको थियो । अब भने संघले व्यापारीका समस्या र नीतिगत मागलाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने विश्वास व्यक्त गरिएको छ ।



कार्यक्रममा संघका पदाधिकारी, सदस्य र व्यापारीहरू उपस्थित रहेका थिए ।

अध्यक्ष सापकोटाले रौतहट उद्योग वाणिज्य संघका नब निर्बाचित अध्यक्ष गोपालीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

 यससँगै चन्द्रपुर नगर उद्योग वाणिज्य संघ अब नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय संरचना र मधेश प्रदेश उद्योग वाणिज्य संघमा आवद्ध भएर व्यापारी हकहितका कार्यक्रमलाई अझै सबल बनाउन सक्ने विश्वास व्यवसायीहरुको रहेको छ।