न्यूज डेस्क | साउन ३१, २०८२ शुक्रबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदी नदीमा श्रमदानको नाममा बालुवा, गिटी तथा ढुंगा उत्खनन तीव्र गतिमा भइरहेको छ । स्थानीयवासीका अनुसार असार, साउन र भदौ महिनामा वर्षातका कारण नदी दोहन रोक्न स्थानीय प्रशासनले गरेको स्पष्ट आग्रहलाई समेत बेवास्ता गर्दै ट्र्याक्टर माफियाहरु खुलेआम सक्रिय भएका छन् ।
उक्त क्षेत्रमा बालुवा र गिटीको अवैध निकासी रोक्न प्रहरी, स्थानीय प्रशासन र डिभिजन वन कार्यालयबीचको समन्वय कमजोर देखिएको आरोप लगाइएको छ । वर्षायाममा नदी दोहनले बाढी, कटान र बस्ती जोखिममा पर्ने खतरा उच्च हुने भएकाले प्रत्येक वर्ष स्थानीय प्रशासनले प्रतिबन्धात्मक निर्देशन जारी गर्ने गरेको भए पनि यस वर्ष त्यसको पालना भएको देखिँदैन ।
स्थानीय बासिन्दाहरूको भनाइअनुसार, दिनको उज्यालोमै ट्र्याक्टरहरु नदीमा पस्छन् र राति अझ बढी मात्रामा निकासी हुन्छ । "श्रमदानको नाममा काम सुरु हुन्छ, तर वास्तविक उद्देश्य उत्खनन र बिक्री हो," एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए ।
डिभिजन वन कार्यालय रौतहटका अधिकारीहरूसमक्ष यस विषयमा प्रतिक्रिया लिन खोज्दा "जाँच गरिन्छ" भन्ने सामान्य जवाफ मात्र प्राप्त भएको छ । तर, हालसम्म ठोस कारबाही भएको देखिएको छैन ।
नदी उत्खनन नियन्त्रण नगरेमा चाँदी नदी आसपासका कृषियोग्य जमिन, पुलपुलिया र सडक पूर्वाधारमा दीर्घकालीन क्षति पुग्ने विज्ञहरूको चेतावनी छ । स्थानीय सरोकारवाला निकायहरू तत्काल सक्रिय नहुने हो भने यसले वातावरणीय संकट निम्त्याउने भन्दै नागरिकहरूले दबाब दिन थालेका छन् ।