न्यूज डेस्क | साउन २२, २०८२ बुधबार
रौतहट। चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि भएको निर्वाचनमा उदयनारायण सापकोटा (सुरेन) विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा उनले चार दलीय गठबन्धनका साझा उम्मेदवार सुनिल कुमार साहलाई २३३ मतको फराकिलो अन्तरले हराउँदै अध्यक्ष पद हात पार्न सफल भएका हुन्।
निर्वाचन समिति संयोजक दिलीप कोइरालाका अनुसार सापकोटाले कुल ५०२ सदर मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी साहले २६९ मतमा सिमित हुनुपर्यो। यस निर्वाचनमा ३१ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।
चार दल (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा) को समर्थन पाएका साहलाई भारी मतान्तरले पराजित गर्दै सापकोटाले आफ्नो पकड अझै बलियो बनाएका छन्। यसअघि पनि संघको नेतृत्वमा रहँदै व्यापारी हितका काममा सक्रिय देखिएका सापकोटा पुनः निर्वाचित भएपछि व्यापारी समुदायमा उत्साह थपिएको देखिन्छ।
सापकोटाको जितलाई चन्द्रपुरको स्थानीय राजनीति र उद्योग क्षेत्रको शक्ति सन्तुलनमा महत्त्वपूर्ण संकेतको रूपमा हेरिएको छ। यस जितसँगै चन्द्रनिगाहपुरमा राजनीतिक तहमा समेत हलचल सिर्जना भएको चर्चा व्यापक छ।
सापकोटालाई बधाई दिनेहरूको ओइरो लागेको छ। व्यवसायी, शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा शुभकामना दिइरहेका छन्। अब संघले सापकोटाको नयाँ कार्यकालमा व्यापारीका मुद्दाहरू अझ मजबुतीका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
स्मरणीय छ, सापकोटाले यसअघि संघको भवन निर्माण, व्यवसायी समस्या समाधान तथा नीतिगत पैरवीमा सशक्त भूमिका निर्वाह गरेका थिए। चुनावअघि सार्वजनिक गरिएको उनको ११ बुँदे एजेन्डा पनि व्यापक रूपमा सकारात्मक रूपमा लिइएको थियो।
नव निर्वाचित अध्यक्ष सापकोटाले निर्वाचनपछि दिएको प्रतिक्रियामा सबै व्यापारीको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै संघलाई अझ सबल, गतिशील र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अबको कार्यकालमा संघले व्यवसाय प्रवर्द्धन, सहुलियतपूर्ण नीति निर्माण र स्थानीय प्रशासनसँग समन्वयमा व्यवसायमैत्री वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।