न्यूज डेस्क | साउन २२, २०८२ बुधबार
अर्जुन तिमल्सिना
रौतहट । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि गठबन्धनबाट अध्यक्ष पदमा उठेका उम्मेदवार सुनिल कुमार साह गम्भीर विवादमा तानिएका छन्। घरेलु तथा साना उद्योग कार्यालय, गौरद्वारा संघलाई प्रदान गरिएको कुर्सी, टेबल र पंखा समेत साहले व्यक्तिगत रूपमा प्रयोग गरेको पुष्टि भएको छ।
सम्बन्धित सामग्री संघको नाममा प्रदान गरिएको भए तापनि, ती सामग्री हाल उम्मेदवार साहकै घरमा रहेको खुलेको छ। झनै अचम्मको कुरा त, साह आफैंले सार्वजनिक सामाजिक सञ्जालमार्फत यथार्थ पुष्टि गरेका छन्। उनले आफ्नो पोष्टमार्फत संघका लागि आएको उक्त सामग्री आफूले नै घरमै राखेको स्वीकारेका छन्।
स्रोतका अनुसार, घरेलु तथा साना उद्योग कार्यालय गौरले संघलाई सघाउन आवश्यक फर्निचर तथा उपकरण उपलब्ध गराएको थियो, तर त्यसको औपचारिक प्रयोग संघको कार्यालयमा नभई, साहको घरमै सीमित रहेको देखिन्छ। यसले पारदर्शिता र नैतिकताको गम्भीर प्रश्न उठाएको छ।
संघको नेतृत्वमा रहन चाहने उम्मेदवारले आफैं संघको लागि आएको सामग्री निजी स्वार्थका लागि प्रयोग गर्नु अत्यन्त आपत्तिजनक कदम भएको भन्दै व्यवसायीहरूले आलोचना गरिरहेका छन्। व्यापारी महासंघका एक पदाधिकारी भन्छन्, “संघको नाममा आएको सहयोग कुनै व्यक्तिगत घरमा जानु अनुचित मात्र होइन, गैरकानुनी पनि हुन सक्छ। यस्ता उम्मेदवारप्रति व्यवसायी सचेत हुनुपर्छ।”
यस घटनाले चुनावी माहोललाई थप तातेको छ। एकातिर उदय नारायण सापकोटाले पारदर्शिता, संरचना र संस्थागत विकासको प्रतिबद्धता जनाइरहेका छन् भने अर्कातर्फ गठबन्धन उम्मेदवार साहमाथि नैतिकता र अपारदर्शिताको आरोप लागेको छ।
सुनिल कुमार साह निकट स्रोतहरूले भने यो आरोपलाई सामान्य विषयको रूपमा व्याख्या गरेका छन्। उनीहरू भन्छन्, “सामग्री संघकै लागि हो, जुन सुरक्षित रूपमा साहकै संरक्षणमा छ।” तर आलोचकहरू भन्छन्, “संघको सामग्री संघमै हुनुपर्ने हो, व्यक्तिगत निवासमा होइन।”
यसबीच, घरेलु तथा साना उद्योग कार्यालय गौरले पनि यस विषयमा ध्यान दिने तयारी गरिरहेको जनाइएको छ। यदि प्रमाणसहित उजुरी पर्यो भने, छानबिन प्रक्रिया अघि बढाइने बताइएको छ।
अब हेर्न बाँकी छ, यो प्रकरणले उम्मेदवार साहको चुनावी समीकरणमा कस्तो असर पार्छ, र व्यवसायी समुदाय यो व्यवहारप्रति कति संवेदनशील हुन्छ। आगामी केही दिनमा परिस्थिति अझ स्पष्ट हुने अपेक्षा गरिन्छ।