न्यूज डेस्क | साउन २१, २०८२ मंगलबार

अर्जुन तिमल्सिना 
रौतहट।
चन्द्रपुर उधोग बाणिज्य संघको नेतृत्वका लागी निर्बतमान अध्यक्ष रहेका उदय नारायण सापकोटाले ११ वटा एजेन्डा सहितको अपिल पेश गरेका छन् ।  उद्योग वाणिज्य क्षेत्रको सशक्त नेतृत्वदायी भूमिकामा रहँदै आएका  उदय नारायण सापकोटा (सुरेन) पुनः चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। विगत कार्यकालमा संघको भौतिक तथा संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेका सापकोटाले यस पटक ११ बुँदे एजेन्डा  सार्वजनिक गर्दै व्यवसायी समुदायसँग फेरि एकपटक विश्वास मागेका छन्।


चन्द्रपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा सापकोटाको घोषणापत्रहरू सार्वजनिक हुँदै गएका छन्। सापकोटाले प्रस्तुत गरेको कार्ययोजना भिन्न र यथार्थपरक देखिन्छ। संघको  अधुरो भवन निर्माण देखि लिएर  डिजिटल प्रविधिमा आधारित सेवा प्रवाह, साना तथा मझौला व्यवसायको प्रवर्द्धन, सुलभ ऋण;बीमा सुविधा , र व्यवसायी प्रशिक्षण जस्ता विषयहरू उनका प्राथमिकतामा पर्छन्। 



यतिबेला सापकोटा नेतृत्वको पुनः माग गरिनुको पछाडि ठोस कारण छन्। विगतमा संघलाई ‘कागजी संस्था’ बाट ‘सक्रिय संघ’ मा रूपान्तरण गर्नु होस् वा व्यवसायीको समस्या समाधान गर्न सम्बन्धित निकायहरूसँग सहकार्य, सापकोटाको कार्यकाल क्रियाशील रह्यो। संस्थाको आत्मनिर्भरता र दीर्घकालीन संरचनाको जग हाल्ने काम उनले गरेकै हुन्।

तर, यसपालिको चुनावी प्रतिस्पर्धा सजिलो छैन। विभिन्न धार र गुटमा विभाजित संघका मतदाताहरू अब ‘काम बोलेको’ आधारमा मत दिने सोचमा देखिन्छन्। यतिबेला सापकोटाको सबैभन्दा बलियो पक्ष भनेकै कामको ट्र्याक रेकर्ड हो, जुन उनले पछिल्लो कार्यकालमा प्रमाणित गरेका छन्।



थप एक कार्यकाल किन?

सापकोटाले पोस्टरमार्फत जनतासँग सोधेका छन्— “थप १ कार्यकाल किनरु” र उनले त्यसको जवाफ पनि प्रस्तुत गरेका छन्। भवन निर्माणको अन्तिम चरण, व्यवसायीको सामाजिक सुरक्षा, व्यवसायमैत्री वातावरण निर्माण, र पारदर्शी नेतृत्व प्रदान गर्नु उनका आगामी एजेन्डाका मूल थिम हुन्।

एक किसिमले हेर्दा, सापकोटाको उम्मेदवारी स्थायीत्व र निरन्तरताको पक्षधर हो। संघलाई अझ आधुनिक, गतिशील र व्यवसायीमैत्री बनाउने उनको दृष्टिकोण स्वागतयोग्य छ।

तर निर्वाचन भनेको मतदाताको विश्वासको निर्णायक घडी हो। सापकोटाले आफ्नो कर्म र प्रतिबद्धताबाट त्यो विश्वास बनाइसकेका छन् भन्ने दाबी गरे पनि अन्तिम निर्णय व्यवसायीक मतदाताकै हातमा छ।



''चन्द्रपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनको यो घडीमा मतदाताले गम्भीर सोच विचार गर्नुपर्ने समय आएको छ। व्यावसायिक हितको सुनिश्चितता र संघको दीगो विकासका लागि सशक्त नेतृत्व अपरिहार्य छ।''  उनले बताए । 

 चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेका वर्तमान अध्यक्ष उदय नारायण सापकोटा सुरेन आगामी कार्यकालका लागि पुनः उम्मेदवार बनेका छन्। संघको अध्यक्ष पदमा क्रम संख्या १ बाट प्रतिस्पर्धा गर्दै उनले ११ बुँदे चुनावी एजेन्डा सार्वजनिक गर्दै व्यवसायी समुदायको पुनः विश्वास जित्न आग्रह गरेका छन्। सापकोटाले एक कार्यकालको अनुभवलाई आगामी कार्ययोजनामा रुपान्तरण गर्दै थप एक कार्यकाल किन भन्ने नारासहित मतदातासँग अपिल गरेका छन्।

उनका मुख्य एजेन्डा यस प्रकार छन्

१.उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण सम्पन्न गर्ने।
२. संघलाई आधुनिक प्रविधियुक्त डिजिटल प्रणालीमा लैजाने।
३. साझेदारीमा व्यवसायिक प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने।
४. साना उद्यम र स्थानीय व्यवसाय प्रवर्द्धन गर्ने।
५. अनुगमनमार्फत व्यवसायीक अनुशासन र इमानदारी कायम गर्ने।
६. व्यवसायीको हितका लागि सुलभ ऋणको व्यवस्था गर्ने।
७. खुला र पारदर्शी सदस्यता वितरण प्रणाली लागू गर्ने।
८. व्यावसायिक बीमा कार्यक्रम विस्तार गर्ने।
९. व्यवसायीका हकहितको रक्षा गर्ने र ऐक्यबद्धता कायम गर्ने।
१०. व्यवसायीको क्षमता अभिवृद्धिका लागि तालिम तथा सेमिनार आयोजना गर्ने।
११. चन्द्रपुरलाई व्यवस्थित व्यापार केन्द्रको रुपमा विकास गर्ने।

सापकोटाले आफुले नेतृत्व सम्हालेको समयमा संघको संरचनागत विकासदेखि व्यवसायी हितका विविध कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको दाबी गरेका छन्। उनले भने, संघलाई स्थायीत्व, पारदर्शिता र व्यवसायीमैत्री बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बुधबार हुने निर्वाचनमा सापकोटाले फेरि पनि अध्यक्ष पदमा निर्वाचित भई संघलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।