न्यूज डेस्क | साउन २१, २०८२ मंगलबार

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा त्रुटि भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले सर्वसम्मत प्रतिवेदन पारित गरेको छ । सोमबार बिहान ७ बजेदेखि जारी बैठक साँझ ७ बज्न लाग्दा सर्वसम्मतिले प्रतिवेदन तयार भएको हो ।


कांग्रेस सहमहामन्त्री जीवन परियार सभापति सदस्यमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसदहरू नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य छन् ।



‘कुलिङ अफ पिरियड’को प्रावधान निष्कृय पार्नमा प्रत्यक्ष जिम्मेवारीमा रहेकाहरू र त्यसलाई निष्कृय पार्न परोक्ष भूमिका खेल्नेहरूलाई जवाफदेही बनाउने गरी सहमति जुटेको बताइएको छ । समिति सभापति जीवन परियारले मिहिनेत गरेर प्रतिवेदन तयार पारिएको बताए । समितिमा सत्ता र प्रतिपक्षका सांसदहरूले सर्वसम्मतिले प्रतिवेदन पारित गरिएको जानकारी दिए ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले राखेको २ वर्षको ‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई निष्प्रभावी बनाउन गोलमाल गरिएको निष्कर्ष छानबिन समितिले निकालेको हो ।



समितिका सदस्य माधव सापकोटाले निरन्तर २९ दिनसम्म ३७ वटा बैठक तथा दिनरातको अथक मेहनतपश्चात समितिले आफ्नो प्रतिवेदनमा हस्ताक्षर गरेको भन्दै प्रतिवेदन आजको प्रतिनिधि सभा बैठकमा पेश गरिने बताए ।