न्यूज डेस्क | साउन २१, २०८२ मंगलबार
बागमती प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री नियुक्त हुँदैछन्। तर, दिउँसो ३ बजे नियुक्ति र ४ बजे शपथ ग्रहणको कार्यतालिका तय भइसक्दा पनि सत्ताको नेतृत्व गर्न लागेको कांग्रेसले भने आफ्ना मन्त्रीहरूको टुंगो लगाउन सकेको छैन।
पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा र निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले नियुक्त गरेका तीन मन्त्रीको व्यवस्थापन कसरी गर्ने भन्नेमा विवाद हुँदा कांग्रेसलाई मन्त्रीको सूची तयार पार्न हम्मेहम्मे परेको हो। लामाले अल्पमतमा परेपछि नियुक्त गरेका तीन मन्त्रीको शपथ रोकिएको थियो। उनीहरूलाई नै निरन्तरता दिने सहमति भएको भनिए पनि नयाँ आकांक्षीहरूले असन्तुष्टि जनाएपछि कांग्रेस अनिर्णित बनेको छ।
मुख्यमन्त्री र सात मन्त्रालय पाएको कांग्रेसमा लामाले नियुक्त गरेका तीनै जनालाई राख्दा अन्य आकांक्षीहरू रोकिने भएपछि विवाद बढेको हो।
अहिलेको अवस्थामा दिउँसो ४ बजे हुने शपथ ग्रहणमा मुख्यमन्त्री बानियाँ र धादिङका सांसद शिवराज अधिकारीको नाम मात्रै निश्चित भएको छ। अधिकारीलाई प्रदेश सरकारको प्रवक्तासमेत रहने गरी आन्तरिक मामिला तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। कांग्रेसभित्र लामाले नियुक्त गरेकामध्ये एक जनालाई मात्रै समेटेर अरू नयाँ मन्त्री थप्ने वा आज मुख्यमन्त्री र एक मन्त्रीको मात्रै शपथ गराउने भन्ने विषयमा अन्तिम छलफल जारी छ।
यता, सत्ता साझेदार दल नेकपा (एमाले)ले भने ६ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन संसदीय दलको बैठक बोलाएको छ।