न्यूज डेस्क | साउन २१, २०८२ मंगलबार

काठमाडौँ । झापाको दमकमा भएको ५८ बिघा सरकारी जग्गा घोटाला प्रकरणमा मुछिएका तत्कालीन नापी प्रमुख शशिकान्त झा सहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा तत्कालीन नापी प्रमुख झासहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १३ मा विशेष अदालतमा दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकुमार न्यौपाने र संसारनाथ पाण्डे तथा दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत बच्चुराम कार्कीसहित भूमाफिया, नेता, कर्मचारी र बिचौलियालाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।



दमक नगरपालिकास्थित तत्कालीन १३ र १४ वडा ९हालको वडा नं। ८० मा फैलिएको खोला किनारको ५८ बिघा १४ कट्ठा १७ धुर जग्गा हिनामिना अभियोगमा माओवादी कोशी प्रदेश कमिटी कोषाध्यक्षसमेत रहेका पुरीसहित १ सय ३८ जनालाई बिगो, कैद र जरिवाना तथा २ सय २१ विरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । 

तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झाले सरकारी जग्गा स्थानीय माओवादी नेता गगन पुरी लगायतको नाममा दर्ता गराइदिँदा आफ्नै श्रीमतीको नाममा समेत राखेको पाइएको हो । मालपोत कार्यालय दमकले २०७५ भदौ १७ गते अख्तियारलाई पठाएको पत्रमा सुरुमा रेवतराज पुरीको नाममा दर्ता गरिएको साबिक दमक–६ को कित्ता नम्बर ३१४९४ वा पुनः कित्ताकाट भई कित्ता नम्बर ३३५२१ बनेको ८ कट्ठा जग्गा तत्कालीन नापी अधिकृत झाले आफ्नी श्रीमती अनारदेवी झाको नाममा दर्ता गराएको उल्लेख छ ।



सुरुमा रेवतराज पुरीको नाममा दर्ता गराइ त्यहाँबाट २०६७ जेठ २१ गते झाले आफ्नी श्रीमती अनारदेवी झाको नाममा जग्गा ल्याएको रेकर्ड देखिएको छ । तत्कालीन नापी अधिकृत झाको २०७५ साल पुस ७ गते मृत्यु भइसकेको छ । यद्यपि सरकारी जग्गा श्रीमतीको नाममा राखेको र करोडौँको सरकारी सम्पत्ति व्यक्ति विशेषका नाममा दर्ता गर्न सहयोग गरेको भन्दै झाकै सम्पत्तिबाट जफत गर्न मागदावी लिइएको छ ।

अभियोगपत्रअनुसार सरकारी जग्गा व्यक्तिका नाममा लैजाने मुख्य योजनाकारका रूपमा तत्कालीन नापी कार्यालय चन्द्रगढीका प्रमुख नापी अधिकृत शशिकान्त झा र अर्का नापी प्रमुख संसारनाथ पाण्डे कर्मचारीका रूपमा मुख्य भूमिका निर्वाह गरेको देखिन्छ । झा र पाण्डेको निधन भइसकेको छ । सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता कायम गरेबापत झाले पत्नी अनारदेवी झा र पाण्डेले पत्नी सावित्री पाण्डेका नाममा घूसबापत जग्गा लिएका थिए । अख्तियारले झाविरुद्ध ३० करोड २ लाख ७१ हजार ९ सय २६ रुपैयाँ र पाण्डेविरुद्ध ६७ हजार ७ सय ७ रुपैयाँ बिगो मागदाबी लिएको छ । सार्वजनिक जग्गालाई माओवादी नेता पुरीले आफू र परिवारका १० जनासहित विभिन्न व्यक्तिका नाममा कायम गराएका थिए । पुरीविरुद्ध मात्रै ६ करोड २ लाख ७० हजार ४ सय ९९ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको छ ।

‘दमकको बालुवाटार’ प्रकरणका रूपमा चिनिएको उक्त जग्गा हिनामिना सम्बन्धमा अख्तियारले २०७८ सालबाट विस्तृत अनुसन्धान अघि बढाएको थियो । करिब २ वर्ष लामो अनुसन्धान टुङ्ग्याउँदै अख्तियारले नेता, कर्मचारी र बिचौलियासहितकालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।

‘२०२१ सालको सुरु नापीमा सरकारी–सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता स्रेस्ताबाट देखिएकामा उक्त कित्ताहरू नापी कार्यालय, चन्द्रगढी, झापा र दमकका मालपोत र नापी कार्यालयबाट पुनः नापीका बखत विभिन्न व्यक्तिहरूको जग्गामा घुसाई हालसाबिक प्रक्रियाबाट जग्गा दर्ता भएको देखिन्छ,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ, ‘जग्गा ९नाप जाँच० ऐन, २०१९ र जग्गा ९नाप जाँच० नियमावली, २०५८ अनुसार साविकमा सरकारी वा सार्वजनिक जग्गा जनाई नाप जाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साबिकबमोजिम नै सरकारी वा सार्वजनिक जग्गाका रूपमा दर्ता गर्नुपर्ने देखिन्छ,’ अख्तियारले विगतबाटै सरकारी–सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिविशेषका नाममा घुसाई हालसाबिक गरी व्यक्तिका नाममा पुर्‍याएको उल्लेख गरेको छ ।



अनारदेवी झाको बयान–दोषी ठहरे क्षतिपूर्ति तिर्न तयार छु

अख्तियारमा दिएको बयानमा उनले भनेकी छिन्–‘मेरो श्रीमान् शशीकान्त झा नापी कार्यालय भद्रपुर, झापामा लगभग ५ वर्षसम्म कार्यरत हुनुहुन्थ्यो । उहाँको मृत्यु २०७५ साल पुस महिना ७ गते भएको हो, मृत्यु दर्ताको छायाकपी पेस गरेको छु । हालसम्म अंशबन्डा नभएको र सम्पत्तिको हकदार मेरो जेठो छोरा प्रफुल्ल कुमार झा हाल काठमाडौँ जिल्लामा बसाइ छ र हेम्स हस्पिटलमा कार्यरत रहेको छ । मेरो माइलो छोरा प्रमोद कुमार झा हाल युएसएमा बसाइ छ । मेरो कान्छो छोरा प्रशान्त झा हाल जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नम्बर १ गौरीशंकर टोलमा मसँगै घरमा बसाइ छ ।मेरो नाममा जिल्ला झापा, दमक नगरपालिका वडा नं। १३ को सिट नं। १७९–००९५ कि।नं। १४ क्षेत्रफल २७७९।०४ को जग्गा छ । त्यो जग्गा मेरो श्रीमान् झापा नापी कार्यालयमा हुदाँखेरी नै मेरो नाममा पास गरेको हो तर कोबाट जग्गा आएको हो र के कति पैसामा किनेको हो, त्यो सबै कारोबार मेरो श्रीमानले नै सबै गर्नु भएको हो । मेरो श्रीमान् नापी कार्यालय झापामा कार्यालय प्रमुखको हैसियतले कार्यरत हुँदा दमक नगरपालिका वडा नं। १३ र १४ को सरकारी सार्वजनिक जग्गाहरू व्यक्ति विशेषको नाममा कायम गर्ने सम्बन्धमा यदि अदालत बमोजिम ठहर भएमा सो सम्बन्धी बिगो क्षतिपूर्ति तिर्न मन्जुर छु ।’

को-को छन् प्रतिवादी 

शशीकान्त झा, विष्णु कुमार न्यौपाने, अनार देवी झा, संसारनाथ पाण्डे, शेष बहादुर श्रेष्ठ, सियालाल राम, स्टालिन भण्डारी, सिताराम यादव, विन्देश्वर पंजियार सुडी, जगदीश प्रसाद यादव, मिन बहादुर प्रधान, विनोद कुमार मण्डल, इन्द्रिस नदाफ, कृष्ण देव राम, बच्चुराम कार्की, शर्मिला कार्की, होमनाथ सेडाइ, तारानाथ दंगाल, रंजना दाहाल , ज्ञानु शिवाकोटी, कृष्ण प्रसाद भट्टराई, भीष्म राज भट्टराई, रोहित कुमार कोइराला, गगन भन्ने रेवतराज पुरी, केशावती पुरी, मनमाया पुरी, देव कुमार पुरी, डिल्लीराम पुरी, प्रेम कुमार पुरी, माया पुरी पाण्डे, ममता पुरी घिमिरे, कृष्ण कुमार पुरी, उमा श्रेष्ठ, कुल बहादुर दाहाल, जंग बहादुर थापा, कृष्ण बहादुर विश्वकर्मा, गिता देवी शर्मा, गोपाल अधिकारी, तारावीर विष्ट, तुलसी देवी पौडेल, तेज बहादुर दाहाल, थान बहादुर दाहाल, प्रमोद पौड्याल, बालकुमारी यादव लगायत छन् ।