प्राइम खबर संबाददाता | साउन २१, २०८२ मंगलबार
अर्जुन तिमल्सिना
रौतहट। चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आसन्न निर्वाचन नजिकिंदै जाँदा नेतृत्व चयनलाई लिएर व्यापारीहरूबीच चर्को बहस सुरु भएको छ। विशेषतः अध्यक्ष पदमा उम्मेदवारी दिएका सुनिल कुमार साहको नामले अहिले संघको आन्तरिक राजनीति तातेको छ। साहलाई चारवटा प्रमुख राजनीतिक दलको समर्थन रहेको भनिएपनि आम व्यापारी समुदायमा भने उनको उम्मेदवारीप्रति व्यापक असन्तुष्टि देखिएको छ।
संघको विगत, वर्तमान र भावी योजनासँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायीहरूले साहको उम्मेदवारीलाई ‘विवादास्पद’ तथा ‘दुर्भाग्यपूर्ण’ संज्ञा दिँदै आएका छन्। उनीमाथि संघलाई विगतमा कमजोर बनाएको, कुनै पनि उल्लेखनीय योगदान नगरेको र व्यक्तिगत स्वार्थका लागि राजनीतिमा भोट बटुल्ने प्रयत्न गरेको आरोप खुलेर लाग्न थालेको छ।
स्थानीय व्यवसायीको साथ र वर्तमान कार्यसमितिको जोडबलले संघको आफ्नै भवन निर्माण भएको छ भने उक्त भवन निर्माणमा पूर्ण रूपमा निष्क्रिय रहेका साह, अहिले अध्यक्ष पदका आकांक्षी रहेर उम्मेदवार बनेका छन्।
चन्द्रपुरका व्यापारीहरूको प्रमुख गुनासो संघको भवन निर्माणमा साहको पूर्णतः निष्क्रियता हो। निवर्तमान समिति संघको नेतृत्व तहमा हुँदा संघको आफ्नै कार्यालय भवन बन्ने प्रक्रिया तीव्र भएको थियो। केही अहिले उम्मेदवार रहेका अधिकांश व्यापारीहरूले उक्त भवन निर्माणका लागि आर्थिक सहयोग तथा भौतिक व्यवस्थापनमा कुनै न कुनै रूपमा सहयोग गरेका थिए। तर साह भने त्यही बेला संघसँग जोडिएर बसे पनि एक पैसा र एउटा इट्टा पनि योगदान नगरेको व्यवसायीहरू बताउँछन्।
एक व्यापारीको शब्दमा, “हामीले इँटा, सिमेन्ट, गिट्टीदेखि आर्थिक सहयोगसम्म गर्यौं, तर साहले त संघको हितमा एक पैसा पनि खर्च गर्न चाहेनन्। यति हुँदा पनि आज आएर यिनलाई भोट माग्न लाज लाग्दैन।”
सुनिल कुमार साह विगतमा संघका महासचिव थिए। त्यसबेला उनको नेतृत्व निकै कमजोर र निष्क्रिय भएको भन्दै व्यापक आलोचना भएको थियो। व्यवसायीहरूका अनुसार त्यतिबेला संघको अडिट, साधारणसभा तथा वैधानिक नवीकरण जस्ता मूलभूत कार्यहरूसमेत समयमै सम्पन्न गर्न सकेका थिएनन्। कानुनी हैसियत गुमाउने अवस्थामा पुगेको संघलाई पुनः स्थायित्व दिन हालका अध्यक्ष उदय नारायण सापकोटाले योगदान गरेका थिए।
उक्त समयमा साह सम्मिलित समिति स्वयंले सापकोटालाई पत्र लेख्दै अडिट, नवीकरण र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको पुष्टिकर्ता कागजातहरू अहिले पनि संघको अभिलेखमा देख्न सकिन्छ। त्यसैले अहिले आएर त्यही सापकोटालाई हराउने उद्देश्यले उम्मेदवार बनेका साहप्रति व्यवसायीहरू झनै आलोचनात्मक बनेका छन्।
“हामी राजनीति होइन, व्यापारको भलाइ चाहन्छौं” बालचनपुरका एक व्यवसायीले भने । यो निर्वाचनमा साहलाई विभिन्न चार राजनीतिक दलहरूको समर्थन रहेको बताइए पनि, संघ भित्र व्यापारीहरू भने राजनीतिक हस्तक्षेपविरुद्ध खुलेर उभिएका छन्। उनीहरू भन्छन् – “हामी राजनीतिक नेतृत्व चाहँदैनौं, हामीलाई चाहिएको हो व्यापारीको मार्का बुझ्ने, व्यापारको हितमा काम गर्ने सक्षम नेतृत्व।”
एक व्यवसायीले भने, “हामी दलगत एजेन्डा होइन, हाम्रो हक–हितका एजेन्डा चाहन्छौं। संघको नेतृत्व व्यापारिक दृष्टिकोणबाट सोच्ने व्यक्तिको हातमा हुनुपर्छ, न कि विगतमा संघलाई कमजोर बनाउने नेतृत्वको।”
उता, वर्तमान अध्यक्ष उदय नारायण सापकोटा पुनः अध्यक्ष पदका उम्मेदवार बनेका छन्। सापकोटाले विगतमा संघको भवन निर्माणदेखि लिएर संघको वैधानिकता कायम गर्न र त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनी संघका सबैखाले सदस्य व्यवसायीहरूसँग सहकार्यमा विश्वास राख्ने र व्यवहारिक काम गर्ने अध्यक्षका रूपमा परिचित रहेको व्यवसायी दीपक न्यौपाने बताउँछन् ।
सापकोटाको कार्यकालमा संघले आफ्नो भवन निर्माण, आन्तरिक लेखा परीक्षण, साधारणसभा, सदस्य नविकरण, व्यवसायी हितका कार्यक्रमहरू र सरकारी निकायहरूसँग समन्वय जस्ता महत्वपूर्ण कार्यहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हुदाँ व्यवसायीले निर्वाचन मार्फत त्यसको उचित लेखाजोखा गर्ने बागमतीका एक व्यवसायीले बताए । आफू आबद्ध दलको परिबन्धमा परेको भएतापनि भोट भने सापकोटाको पक्षमा गर्ने उनले बताए।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आगामी चुनाव अब केवल दुई उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र नभएर दृष्टिकोण र भिजनको संघर्षको रूपमा देखिएको छ। एकातर्फ संघको मजबुत आधार निर्माण गर्ने उदय सापकोटा छन् भने अर्कातर्फ विगतमा निष्क्रिय भूमिका खेलेका र कुनै योगदान बिना गठबंधन राजनीतिक दलको समर्थनमा उम्मेदवार बनेका सुनिल कुमार साह।
यो अवस्थामा व्यवसायीहरू आफ्ना भोटको मूल्य र भविष्यको रणनीति बुझेर निर्णयमा पुग्ने आशा गरिएको छ। संघको नेतृत्व राजनीतिमा होइन, व्यापारमै रहोस् भन्ने चाहना प्रष्ट देखिएको छ। अब हेर्न बाँकी छ चुनावी नतिजा कसको पक्षमा जान्छ?