प्राइम खबर संबाददाता | साउन १७, २०८२ शुक्रबार

अर्जुन तिमल्सिना 
रौतहटको चन्द्रपुर नगरपलिका वडा नम्बर ६ माईती घरबाट  बृन्दावन नगरपालिका ३ का मिश्रीलाल साह सँग परम्परागत बिवाह गरेकी रोशनी साहले आफ्नै श्रीमानबाट चरम घरेलु हिंसा, मानसिक शोषण र सामाजिक अपमान सहनु परेको गुनासो गर्दै अब आफू अन्तिम लडाइँ लड्न तयार रहेको बताएकी छिन्। उनका श्रीमान् मिश्रीलाल साह हाल चन्द्रपुर नगरपालिकामा सामाजिक बिकास शाखामा शाखा अधिकृतका रूपमा कार्यरत छन्।


रोशनीका अनुसार मिश्रीलाल साहले वैधानिक रूपमै आफूलाई विवाह गरे पनि पछिल्लो समय अर्को महिलासँग प्रेम सम्बन्ध राख्दै जबर्जस्ती सम्बन्धविच्छेद गर्न दबाब दिइरहेका छन्। 'मसँग विवाह भएको हुँदाहुँदै पनि अर्कै महिलासँग विवाह गर्ने प्रयास, मलाई पद र पैसाको बलमा धम्क्याउने, कुटपिट गर्ने, सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्न लगाउने—सबै अत्याचार उनीबाट भइरहेको छ ।' पीडित रोशनीले भनिन्।



रोशनी भन्छिन् 'म एक स्वाभिमानी महिला हुँ। न त सम्बन्धविच्छेद गर्न तयार छु, न त कुनै अर्को पुरुषसँग विवाह गर्ने सोच राखेकी छु।' उनले न्यायका लागि अनेक प्रयास गर्दा पनि राज्य संयन्त्रबाट उचित साथ नपाएको आरोप लगाउँदै भनिन्, 'अब यदि न्यायलयले पनि न्याय दिएन भने म न्यायलयकै गेट अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नेछु।' उनको अनुसार मिश्रीलालले आफ्नो सरकारी पदको दुरुपयोग गर्दै सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाउन खोजिरहेका छन्। उनले सम्बन्धविच्छेदको सहमतिमा हस्ताक्षर गर्न पटक–पटक मानसिक दबाब दिइरहेको पनि बताइएको छ।

स्थानिय स्रोतका अनुसार रोशनी विगत लामो समयदेखि घरेलु हिंसा र सामाजिक दबाबबीच गुज्रिरहेकी छिन् तर सम्बन्ध टिकाउन र परिवार जोगाउनकै लागि उनले अहिलेसम्म कानुनी लडाइँ रोजेकी थिइनन्। तर अहिले अवस्था यति बिग्रिएको छ कि उनले अब या त न्याय पाउने या ज्यान गुमाउने भन्ने अवस्थामा आफू पुगेको बताएकी छिन्।
संबन्धित निकायहरू तथा मानव अधिकारवादी संस्थाहरूले यस घटनाको गम्भीर छानबिन गरी पीडित रोशनीलाई तत्काल न्याय दिनुपर्ने माग सर्वत्र उठ्न थालेको छ। सामाजिक सन्जालमा पिडित रोशनीले पोखेको पिडाको भिडियो ब्यापक भाइरल बन्दै गईरहेको छ ।



कतिपयले उनको श्रीमानलाई आफ्नो श्रीमतिसँगको सम्बन्ध सुधार गर्नको लागी समेत सुझाएका छन् । पिडीत रोशनीको न्यायको लागी आबाज उठाउन आफूहरुको सक्दो प्रयास रहने भन्दै केही अधिकारकर्मीहरुले समेत प्रतिक्रिया दिएका छन् ।