प्राइम खबर संबाददाता | साउन १६, २०८२ बिहिबार

रौतहट, चन्द्रपुर — चन्द्रपुर नगरपालिकाका १० वडाहरू मध्ये वडा नम्बर १ ले राजस्व सङ्कलनमा सबैभन्दा न्यून योगदान दिए पनि स्थानीय जनताको मन जित्न भने सफल भएको देखिएको छ।


वडाध्यक्ष बलराम राउतको नेतृत्वमा वडा नम्बर १ ले जनपक्षीय कार्यशैली अंगिकार गर्दै विभिन्न सिफारिस दस्तुर तथा प्रशासनिक सेवा शुल्कमा छुट दिँदै आएको छ। यसै कारण वडा कार्यालयमा सेवा लिन आउने नागरिकलाई सहज सेवा प्रवाह भएको भन्दै स्थानीयहरूबाट खुलेर प्रशंसा भइरहेको छ।



चन्द्रपुर नगरपालिका आर्थिक वर्ष २०८१/८२ को राजस्व विवरण अनुसार वडा नम्बर १ ले जम्मा ३,११,३५१.१३ रुपैयाँ मात्र राजस्व संकलन गरेको छ, जुन सबै वडाहरूमा सबैभन्दा न्यून हो। तुलना गर्दा सबैभन्दा बढी राजस्व वडा नम्बर ८ ले १३,७५,७१८.८३ रुपैयाँ संकलन गरेको छ।

यद्यपि आम्दानीको हिसाबले वडा नम्बर १ पछाडि देखिए पनि सेवा प्रवाह र नागरिक सन्तुष्टिको सूचकमा भने अगाडि रहेको वडावासीहरूको भनाइ छ। वडाध्यक्ष राउतले "जनतासँग सरोकार राख्ने विभिन्न सेवा शुल्कमा छुट दिँदा नगरपालिकाको कुल आम्दानीमा केही प्रभाव पर्न सक्छ, तर जनताको सन्तुष्टि नै पहिलो प्राथमिकता हो," भन्ने धारणा राख्दै आएका छन्।



स्थानीय बासिन्दा भुबल वाइबा  भन्छन्, “हामीलाई वडा कार्यालयमा सिफारिस बनाउँदा वा प्रमाणपत्र लिँदा सहजता मिलेको छ। कुनै झन्झट छैन। दस्तुर छुट पाउँदा आर्थिक रूपमा पनि राहत मिलेको छ।”

नगरभित्रका अन्यभन्दा ठूलै जनसङ्ख्या र भूगोल ओगटेको वडा नम्बर १ बाट न्यून आम्दानी भएको तथ्याङ्कले आर्थिक दृष्टिकोणले केही चिन्ताको विषय देखिए पनि सामाजिक र सेवामूलक दृष्टिले भने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार हाल वडा नम्बर २ मात्र केही बाँकी रकम दाखिला गर्न बाँकी रहेको छ, अन्य सबै वडाहरूले संकलित रकम पूर्ण रूपमा दाखिला गरिसकेका छन्।

नगर प्रमुख तथा सरोकारवालाहरूले आर्थिक र सामाजिक दुबै सन्तुलन मिलाएर राजस्व नीतिमा सुधार ल्याउने प्रयास गर्नु आवश्यक देखिन्छ। सेवा प्रवाहमा सहजता कायम राख्दै राजस्व संकलनमा समेत सुधार ल्याउन सके, वडा नम्बर १ नगरका लागि आदर्श बन्न सक्ने सरोकारवालाहरु समेत बताउँछन् ।