न्यूज डेस्क | असार १७, २०८२ मंगलबार

रौतहट, चन्द्रपुर | 'बत्ति मुनिको अँध्यारो' भनेको उखान साँचो सावित भएको छ चन्द्रपुर नगरपालिका वडा नं. २, जुडिबेलामा। वडा कार्यालयको ठीक अगाडि पानी परेपछि पोखरीजस्तै पानी जमेर सेवाग्राहीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ।


स्थानीयबासीका अनुसार वर्षा लागेसँगै कार्यालय परिसर पुग्ने मुख्य गेटअगाडि नै पानी जम्ने समस्या हरेक वर्ष दोहोरिइरहेको छ। सडकको स्तर,ढल निकासको व्यवस्था नहुँदा पानीको सहज बहाव हुन सकेको छैन। कार्यालय प्रवेश गर्नुपर्ने नागरिकहरूलाई घुँडासम्म पानी छिचोलेर जानुपर्ने बाध्यता देखिन्छ।



"वडा कार्यालय भनेको सर्वसाधारणले दैनिक कामकाजका लागि जाने मुख्य निकाय हो, तर यहाँको अवस्था हेर्दा यस्तो लाग्छ कि हामी कार्यालय होइन, खोलो तर्ने प्रयास गरिरहेका छौं," स्थानिय नागरिक विनोद चौधरी भन्छन्।

अझ स्थानीय महिलाहरू, वृद्धवृद्धा तथा बालबालिकालाई कार्यालय जान झनै कष्टकर भएको छ। "कहिलेकाहीँ त कोही पानीमा चिप्लिएर लड्छन्, यो सामान्य कुरा जस्तो लागे पनि गम्भीर समस्या हो," अर्को सेवाग्राही सविता देवी बताउँछिन्।



वडा कार्यालय अगाडि रहेको चोक, गोल घर वरपरको स्थानको नाली निर्माण अधुरो हुँदा, जमेको पानीको उचित निकास नहुँदा वर्षायाममा यस्तो समस्या अत्याधिक बढेको हो। यस क्षेत्रको अवस्था सुधार गर्न पटक–पटक गुनासो गरे पनि स्थानीय तहबाट हालसम्म कुनै प्रभावकारी पहल भएको छैन।

यस विषयमा वडा अध्यक्ष दूत्त बहादुर थिङसँग सम्पर्क गर्दा उनले भने, "हामीले ढल तथा नाली सुधारका लागि योजना बनाएका छौं, बजेट अभावका कारण केही ढिलो भएको हो। वडा कार्यालय अगाडीको मुसहर बस्तीमा रहेको खानेपानीको समस्याको कारण यो अवस्था सिर्जना भएको हो चाँडै समाधान गरिनेछ।"

तर स्थानीय बासिन्दाले भने यसो भनेर पटक–पटक झुक्याउने गरिएको गुनासो गरेका छन्। "हिजो पनि यस्तै भनिएको थियो, आज पनि उही कुरा, तर पानी झन बढ्दैछ," सेवाग्राही रामकिशोरको भनाइ छ।

वडाको गेटअगाडि जमेको फोहोर पानी स्वास्थ्यका दृष्टिकोणले पनि खतरनाक बन्न सक्छ। बालबालिका उक्त पानीमा खेल्ने तथा दुर्घटनाको जोखिम बढ्ने अवस्था रहेको देखिन्छ।



चन्द्रपुर नगरपालिका वडा नं. २ को यो अवस्था तत्काल सुधार गर्नु अत्यावश्यक छ। वडा कार्यालयजस्तो महत्वपूर्ण स्थानमा वर्षाको समयमा पानी जमेर सेवाग्राही हैरान बन्नु अत्यन्तै दुःखद र लज्जास्पद विषय हो। स्थानीय सरकारको दायित्व हो– यस्ता समस्या चाँडो समाधान गर्नु र जनताको सेवा सुचारु राख्नुपर्ने स्थानीयको भनाइ रहेको छ।