प्राइम खबर संबाददाता | बैशाख २८, २०७८ मंगलबार
प्रधानमन्त्री केपी ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनी नेतृत्वको सरकारले विश्वासको मत पाउँदैन भन्दा भन्दै पनि मत मागेको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको विशेष बैठकमा बोल्दै देउवाले ओली सरकारलाई विश्वासको मत दिन नदिने बताए । उनले भने, ‘यो संसदले मलाई विश्वासको मत दिँदैन भनेर ओलीजीले बुझ्नुभएको छ । कांग्रेसले मत दिन्न ।’
प्रतिनिधि सभा विघठन गरेर असंवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्ने सरकारलाई मत दिन नसकिने उनले बताए ।
देउवाले कोरोना नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा दिन नसकेको लगायतको आरोपहरू लगाउँदै प्रधानमन्त्री ओलीको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताए । ओलीलाई हराउन उनले आह्वान गरेका थिए । ओली सरकारकै कारण मुलुकमा कोरोनाले भयाबह अवस्था भएको देउबाले बताए । ओलीलाई सबै दोषको जिम्मेवारी दिए ।
सभापति देउवाले विश्वासको मत पाउन नसक्ने अवस्था रहेको भन्दै संविधानको धारा ७६ २ अनुसार अर्को सरकार बनाउनुपर्ने अवस्था रहेको बताएका छन् ।
स्वास्थ्य सामग्री खरिद, कोरोनाविरुद्धको खोप खरिदमा कमिशन र भ्रष्टाचार भएको भन्दै सभापति देउवाले ओलीको आलोचना गरे । देउवाले आफू निकटका व्यापारीलाई पोस्न भ्रष्टाचार र कमिशन काण्ड गरेको ओलीलाई आक्षेप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही भन्दा पनि दोषीहरूलाई संरक्षण दिएर बचाएको बताए ।
कोरोना महामारीका बेला ओलीले निर्माणाधिन धरहरा उद्घाटन गरेर कोरोना फैलाएको आरोप लगाएका छन् । देउवाले कोरोनाका बिरामीले उपचारमा अक्सिजन नपाएको भन्दै देउवाले अस्पतालमा उपचार नपाएर बिरामीहरूले ज्यान गुमाउनु परेको बताएका छन् ।
कांग्रेस सभापति देउवाले संवैधानिक परिषदको बैठक संविधान विपरित आफू अनुकूल गरेर राखेको भन्दै संसद छल्न अध्यादेशबाट आफ्ना मान्छे भर्ती गरेको बताएका छन् । उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।
सांसद अपहरण गरेको आरोप पनि देउवाले ओलीलाई लगाएका छन् । ओलीलाई सभापति देउवाले संविधानभन्दा माथि छु भन्ने अहँकार रहेको बताएका छन् । ओलीले सांसद पदको सपथ नै नलिएर प्रधानमन्त्री पदको सपथ लिएको भन्दै देउवाले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको समेत बताए ।
पानीजहाज, घर घरमा ग्यासको पाइप, कोही भोकले मर्ने छैन, सडकमा बालबालिका रहने छैन, माग्नुपर्ने छैन, विदेश जानुपर्ने छैन भनेर ओलीले निर्वाचनमा भनेको अभिव्यक्ति कहाँ पूरा भयो भनेर देउवाले प्रश्न समेत गरे कोरोना नियन्त्रण भएको भनेर ओलीले अन्तर्राष्ट्रिय जगतलाई गुमराहमा राखेको देउवाले बताएका छन् । उनले ओली सरकारका कारण परराष्ट्रनीति निकै कमजोर भएको बताएका छन् ।
कांग्रेस सभापति देउवाले सकारको एकाएक हर्कत र गल्तीहरूको भण्डाफोर गरेपछि प्रधानमन्त्री ओली कालोनिलो भएका थिए ।