न्यूज डेस्क | जेठ १७, २०८२ शुक्रबार
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्याएको थियो । ती चिकित्सकका अनुसार बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात भएको थियो ।
‘उहाँ अस्पताल आइपुग्दा बोली लरबरिएको थियो भने दाहिने हर कमजोर अवस्थामा थियो,’ ती चिकित्सकले अनलाइनखबरसँग भने । त्यसपछि एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको थियो ।
‘अहिले औषधि चलाएर आईसीयूमा राखेर उपचार गरिरहेका छौं,’ उपचारमा समंलग्न ती चिकित्सकले भने । ती चिकित्सकका अनुसार अलामले मधुमेह, उच्चरक्तचापको औषधि समेत सेवन गर्दै आइरहेका छन् । बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका पूर्वसांसद आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले ज्यान मुद्दामा सफाइ दिएको थियो ।