न्यूज डेस्क | जेठ १७, २०८२ शुक्रबार
रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालले सवारी दुर्घटनामा परेकालाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आकस्मिक उद्धार सेवा सुरु गरेको छ । अस्पतालका अनुसार यो सेवा सडक दुर्घटना, प्राकृतिक विपद् वा अन्य आकस्मिक घटनामा परेकालाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो ।
घटनाको जानकारी प्राप्त भएपछि चिकित्सकसहितको टोली एम्बुलेन्समार्फत सिधै घटनास्थल पुग्ने र घाइतेको प्रारम्भिक उपचार गर्ने व्यवस्था गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख डाक्टर सुभाषकुमार चौधरीका अनुसार, यो कार्यक्रम अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गतको पहल हो ।
‘घटनास्थलमै पुगेर निःशुल्क सेवा दिने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौं,’ डाक्टर. चौधरीले भने, ‘दुर्घटनामा परेर समयमा उपचार नपाई ज्यान गुमाउने समस्या घटाउन यो सेवा सहयोगी हुनेछ ।’
बिहीबार आयोजित कार्यक्रममार्फत सेवा सुरु गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा स्थानीय प्रशासन, सुरक्षाकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले चन्द्रपुर अस्पतालको पहल सराहनीय रहेको बताए । ‘सडक दुर्घटनामा तत्काल उपचारको आवश्यकता पर्छ,’ उनले भने, ‘यो सेवा प्रभावकारी हुनेमा हामी आशावादी छौं ।’
अस्पतालका अनुसार उद्धार सेवाका लागि आवश्यक उपकरण र औषधिसहितको एम्बुलेन्स २४ सैं घण्टा तयारी अवस्थामा राखिएको छ । अस्पतालले यो सेवालाई निरन्तर सञ्चालन गर्ने बताएको छ ।