प्राइम खबर संबाददाता | जेठ १६, २०८२ बिहिबार
रौतहटको बन तीव्र अतिक्रमणको चपेटामा परेको छ । सरकारी र सार्वजनिक जग्गा जोगाउने जिम्मेवारी पाएको वन कार्यालयकै आँखा अगाडि अहिले सो क्षेत्रमा अवैध रूपमा पक्की संरचना निर्माण भइरहेको छ। स्थानीय स्रोतका अनुसार यो गतिविधि वन कर्मचारीकै मिलोमतोमा भइरहेको हो।
विशेष रूपमा असारे बजेट भनेर चिनिने आर्थिक वर्षको अन्त्यतिरको बजेट खर्च गर्न तीव्र गतिमा बनभित्रै पक्की भवन सहितका निर्माण भइरहेको छ। यी संरचनाहरू उपभोक्ता समितिको नाममा निर्माण भइरहे पनि त्यहाँ न त सार्वजनिक सुनुवाइ भएको छ, न त वातावरणीय प्रभाव मूल्याङ्कन। स्थानीयले भने, बजेट हत्याउने उद्देश्यले बनक्षेत्र मिचेर गैरकानुनी निर्माणकार्य गरिएको आरोप लगाएका छन्।
“हामीले देखिरहेकै ठाउँमा जेसीभी चलाएर पक्की भवन बनाइँदैछ,” एक स्थानीयले गुनासो गर्दै भने, “बनकै कर्मचारीहरू सामेल नभएको भए यो सम्भव हुने कुरै थिएन।”
रौतहट जिल्ला वन कार्यालयको आधिकारिक धारणा भने अस्पष्ट छ। कार्यालयका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “केही विकास निर्माणका कामहरू उपभोक्ता समितिमार्फत भइरहेको हो, तर ती कानुन विपरीत छन् भने छानबिन हुनेछ।” डिभिजन बन कार्यालय रौतहटका प्रमुख हेमन्त साहको असक्षमताका कारण पनि रौतहटका बनमा दिनहुजसो मासिदै गएको आरोप संरक्षणकर्मी सुनिल यादबको रहेको छ ।
यसरी बन क्षेत्रमा पक्की संरचना निर्माण हुनु वन ऐन २०७६ को खुल्ला उल्लंघन हो। सो ऐन अनुसार राष्ट्रिय वन क्षेत्रभित्र कुनै पनि स्थायी संरचना निर्माण गर्न वन मन्त्रालय वा सम्बन्धित निकायको स्वीकृति आवश्यक हुन्छ।
वातावरणविद्हरूले चेतावनी दिँदै भनेका छन् कि यस्तो अतिक्रमणले दीर्घकालीन असर पार्नेछ। “वन क्षेत्र घट्दा वातावरणीय सन्तुलन, भू–क्षय रोकथाम, तथा वन्यजन्तुको बासस्थानमा गम्भीर असर पर्छ,” वातावरणविद् डा. रमेश यादव बताउँछन्।
स्थानीय बासिन्दाले अवैध संरचना तुरुन्त हटाई संलग्न कर्मचारी र उपभोक्ता समितिमाथि कारबाहीको माग गरेका छन्। अन्यथा अझ व्यापक आन्दोलन चाँहि रोक्न नसकिने चुरे तथा बन बाताबरण संरक्षणका क्षेत्रमा कार्य गर्दै आईरहेका संस्था एबम् संरक्षणकमीहरुले चेतावनी समेत दिएका छन।
चन्द्रपुर नगरपालिका स्थित रहेको साझेदारी ,राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा पछिल्लो समय ब्यापक रुपमा अतिक्रमण भएको हो । उक्त अतिक्रमण गर्दै धमाधम निर्माण कार्य भईरहेको क्षेत्र अन्तर्गत पर्ने चन्द्रनिगाहपुर सब डिभिजन बन कार्यालयका अधिकृत अनिल महत्तोले बन क्षेत्रमा अतिक्रमण गरी निर्माण कार्य गर्दा समेत आखा चिम्लने गरेको सो बापत उपभोक्ता समितिबाट कमिसनको आसा समेत राख्ने गरेको उपभोक्ता समितिका एक सदस्यले नाम नबताउने सर्तमा बताएका छन् ।
उता सबडिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका अधिकृत महत्तो भने उक्त सामुदायिक बन क्षेत्रमा भबन सहितका भौतिक निर्माणका कार्यहरु भएको थाह पाएको तर डिभिजन बन कार्यालयमा भने बताउन बिर्षिएको बताउदै आएका छन् ।