न्यूज डेस्क | जेठ १४, २०८२ मंगलबार
राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले आग्रह गरेको छ ।
आइतबार दिउँसो पार्टीको एक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौंको आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति हाल सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।