न्यूज डेस्क | जेठ १०, २०८२ शुक्रबार

रौतहट। डिभिजन बन् कार्यालय रौतहटको आयोजनामा दिगो वन व्यवस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरण तालिम सम्पन्न भएको छ।


चन्द्रनिगाहपुर स्थित होटल एएन प्लाजाको सभाहलमा शुक्रबार आयोजित उक्त तालिम एबम् गोष्ठीमा डिभिजन वन कार्यालय रौतहट तथा मतहतका वन प्राविधिकहरु र सरोकारवालाहरुलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको वन अधिकृत महालक्ष्मी शर्माले बताइन् ।



 उक्त कार्यक्रममा त्रिवि वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडाका उप-प्राध्यापक संजीव भट्टराईले दिगो बन् व्यवस्थापनका महत्व, नीति र प्रभावकारिता बारे सहभागीलाई प्रकाश पारेका थिए।



 कार्यक्रममा क्लियर फेल्लिङ सिस्टम, सेल्टरवुड सिस्टम, सेलेक्सन सिस्टम तथा दिगो वन व्यवस्थापन कार्ययोजना तयारी लगायतका विषयहरुमा व्यापक छलफल भएको थियो । तालिमका विषयवस्तुहरु समसामयिक र पुर्णरुपले प्राविधिक भएकोले सहभागीहरूले सकृय रुपमा सहभागिता जनाएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख हेमन्त साहले बताए ।



डिभिजन वन अधिकृत अनिल महत्तोद्वारा संचालित उक्त कार्यक्रममा वक्ताहरुले दिगो वन व्यवस्थापन तथा सम्वर्द्धन प्रणाली कार्यान्वयन सुदृढीकरणका विषयमा आ आफ्नो धारणा राखेका थिए।

उक्त एक दिवसीय  तालिममा डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साह, बन अधिकृतहरु सुबाश साह, विकास लामिछाने, लक्ष्मी कर्ण, तेज नारायण रौनियार, विनोद जेठहरा लगायत वन कार्यालयका प्राविधिक कर्मचारिहरु, बन रक्षक, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिती रौतहट अध्यक्ष बेदहरी दाहाल, उपाध्यक्ष टीका आचार्य लगायत स्थानीय संचारकर्मीहरुको  सहभागिता रहेको थियो।