न्यूज डेस्क | बैशाख २८, २०८२ आइतबार

आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारले प्रतिनिधि सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्‌ ।


राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद्‌मा पेश गरिएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसद्‌हरूले उठाएको प्रश्नको जवाफ पनि आजै दिएका थिए ।



विपक्षी दलका सांसद्‌हरूले सरकारका नीति तथा कार्यक्रममाथि पेश गरेका अधिकांश संशोधन प्रस्ताव भने अस्वीकृत भएको छ । नीति तथा कार्यक्रम पारित भएकाले सरकारलाई जेठ १५ गते सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन्‌ ।