प्राइम खबर संबाददाता | माघ ६, २०७७ मंगलबार
रौतहटको चन्द्रपुर नगरपलिका वडा नम्बर ३ स्थित गैडाटारमा विपन्न परिवारलाई न्यानो कपडा बितरण गरिएको छ । गैडाटारस्थित एक नम्बर धारा चौतारामा सोमबार एक कार्यक्रमका बिच सो क्षेत्रका ७० परिवारलाई न्यानो ओढ्ने ओछ्याउने कपडा स्वरूप डसना र फाईबर सिरक बितरण गरिएको हो ।
युएन वुमनको सहयोग तथा जिल्ला प्रशासन कार्यालयको रौतहटको समन्वयमा माण्डवी नामक एक गैर सरकारी संस्थाले सो न्यानो कपडा वितरण गरिएको जनाइएको छ । रौतहटका विभिन्न स्थानमा चिसोले विपन्न परिवारका नागरिकहरुको मृत्यु हुन सक्ने भएकाले उनीहरुलाई राहत स्वरुप न्यानो कपडा वितरण गर्न माण्डवी रौतहटको पहलमा वितरण गरिएको माण्डवीका कार्यकारी निर्देशक अन्जु झाले बताइन् ।
चिसोका कारण कोही कसैको मृत्यु हुन नपरोस भन्ने उद्देश्यका साथ गैडाटारका विपन्न परिवारलाई सोमबार न्यानो कपडा डस्ना र सिरक वितरण गरिएको निर्देशक झाको भनाइ रहेको छ । रौतहटमा विपन्न परिवारका नागरिकहरु जाडोले कठ्याङग्रीएर मृत्यु भएका घटनाहरु घटने गरेकाले यो अभियानले चिसोबाट नै कुनै विपन्न परिवार मर्न नपर्ने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ रहेको छ । रौतहटका विभिन्न नगरपालिकामा रहेका विपन्न परिवारलाई न्यानो पार्न यो अभियान माण्डवीले सञ्चालन गरेकोमा यादवले धन्यवाद समेत व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौला , राष्ट्रिय अनुसन्धान रौतहट जिल्ला प्रमुख मुकुन्द बहादुर खड्का , रौतहट जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख भरत श्रेष्ठ , शसस्त्र प्रहरी गण गौरका निमित्त प्रमुख प्रमोद भारती , ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख लीला राज लामिछाने, कान्तिपुर दैनिकका शिव पुरी , अन्नपुर्ण दैनिकका फणीदेव महत लगायतका पत्रकारहरु तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु एवम् गैडाटारका स्थानिय नागरिकहरुको सहभागीता रहेको कार्यक्रममा एकजना पनि जनप्रतिनिधिको उपस्थिति रहेको थिएन । चुनावको बेला दिन दुखीको सेवा गर्ने वचन र विश्वास दिलाउँदै निर्वाचित भएका जनप्रतिनिधिहरुले यस प्रकारको राहत र परोपकारको गर्न आफै अग्रसर भई गर्नुपर्नेमा गैह्र सरकारी संस्था स्वयं आएर राहत वितरण गर्दा लज्जाबोध भएर पनि जनप्रतिनिधि उपस्थित नभएको हुनसक्ने स्थानीयले तर्क गरेका छन् ।