प्राइम खबर संबाददाता | चैत ५, २०७७ बिहिबार

नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाश शरण महतले संसदिय अंक गणितका कारणे सरकार बनाउने र ढलाउने खेलमा नेपाली काँग्रेसको खासै ठुलो भूमिका नहुने भन्दै राजपा र माओवादी केन्द्रको स्पष्ट धारणा आएपछि मात्र यसबारेमा नेपाली काँग्रेसले विचार गर्ने बताएका छन  । उनले नेपाली काँग्रेसले अहिले हतारिएर केपी ओली नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव लगे त्यो फेल हुने सम्भावना रहेको अनि त्यसपछि संविधानतः अर्को एकवर्षसम्म ओली नेतृत्वको सरकारलाई हटाउने संवैधानिक बाटो बन्द हुने भएकाले नेपाली काँग्रेस त्यतातिर पनि नलाग्ने स्पष्ट परेकाछन् । 
बिहीबार रौतहटमा नेता कार्यकर्ता भेटघाट एबम् अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन चन्द्रनिगाहपुर आएका महतले    नयाँ सरकार निमार्णको बारेमा पछिल्लो समयमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले लिएका अडानको आलोचकहरुले पनि प्रशंसा गरेको बन्दै नेपाली काँग्रेस सशर्त वा हातखुट्टा बाँधेर सरकारमा नजाने बरु अर्को चुनावमा पुर्ण वहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दावी गरेकाछन ।
लोकतान्त्रिक पद्धतिबाट निर्वाचन हुने विश्वका ९० प्रतिशतभन्दा बढि मुलुकमा कम्युनिष्टहरुको नेतृत्वमा सरकार नरहेको हुँदाहुँदै नेपालमा अपवादको रुपमा कम्युनिष्ट नेतृत्वको सरकार गठन भएको र अर्को निर्वाचनमा वलियो काँग्रेस नेतृत्वको सरकार निमार्ण गर्नु गुटउपगुट त्यागेर एक ढिक्का भएर लाग्न महतले कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका हुन् । 
 ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै नेपालमा मात्र कम्युनिष्टले जितिरहेका छन्’ अब यो जात्रा बन्द गर्नु पर्दछ ‘ । त्यो गर्नको लागि नेपाली काँग्रेसको एकता जरुरी छ ।’ नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णा यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला स्तरिय अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।