प्राइम खबर संबाददाता | चैत ४, २०७७ बुधबार
रौतहट स्थित चन्द्रनिगाहपुरका भुमिहिन सुकुम्बासी संघर्ष समितिले बुधबार चन्द्रपुर नगरपालिका परिसरमा घेराउ गर्दै नाराबाजी गरेका छन । नेपाल भरीका भुमिहिन सुकुम्बासी एक हौ । गास बास र रोजगारीको ग्यारेन्टी गर । भुमिहिन सुकुम्बासीलाई भुमि देउ भन्ने नाराका साथ शुरु भएको विरोध र्यालीमा सहभागीले चन्द्रपुर नगरपालिकामा पुगेर नगरपालिका घेराउ गरेका थिए ।
रौतहटका विभिन्न स्थानिय तहहरुले भुमिहिन सुकुम्बासीहरुलाई ब्यबस्थित रुपमा जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडी बढेको तर चन्द्रपुर नगरपालिकाले बेवास्ता गरेको संघर्ष समितिका अध्यक्ष रञ्जिता यादवको आरोप रहेको छ । नेपाल सरकारको निति अनुसार भुमिहिन सुकुम्बासीहरुलाई गास बास कपासको राज्यले ब्यबस्था गर्नु पर्ने , भुमिहिन नागरिकहरुलाई प्रक्रिया पुर्याएर ब्यबस्थित गर्न माग आन्दोलनमा सहभागीले गरेका थिए ।
सुकुम्बासीले केही समय निरन्तर नगरपालिकामा नारावाजी गरेपछि नगर प्रमुख रामचन्द्र चौधरीले संघर्ष समितिका तीनजना प्रतिनिधिसँग छफफल गरेका थिए । नगर प्रमुख चौधरीले सुकुम्बासीको समस्या प्रति गम्भिर ध्यानाकार्षण भएको बताउनु हुदै समृद्ध नगर र खुशी नगरवासी भन्ने आफ्नो भिजन भएको हुँदा कोही लाई काखा कोईलाई पाखा गर्ने नियति आफ्नो नरहेको हुँदा भ्रममा नपर्न सुकुम्बासी समुदायलाई आग्रह समेत गरेका छन् ।
भुमिहिन सुकुम्बासीहरुको समस्या समाधानमा लागी संघीय सरकारसंग कानुनमा नबाझ्ने गरि नगरपालिकाले सहजकर्ताको भूमिका निभाउने र त्यसको लागि आफू हरदम तयार रहेको नगर प्रमुख चौधरीको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीको माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि भुमिहिन सुकुम्बासीले खुशी ब्यक्त गरेका छन । नगर प्रमुख चौधरीले आफ्नो माग पुरा गराउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत भएको संघर्ष समितिका सदस्य सविना विकले बताइन् ।
भूमिहीन सुकुम्बासी नाममा राजनीति गर्दै विभिन्न आयोग र समितिहरू गठन भएको भएतापनि सो आयोग तथा समितिले माखो मार्ने काम नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको नीतु भुजेलले बताइन् । सुकुम्बासीको मागलाई अन्य सरोकारवाला निकायले वेवास्था गरेमा कडा संघर्षका कार्यक्रम सञ्चालन गर्ने संघर्ष समितिका अध्यक्ष रजिता यादवको भनाइ रहेको छ ।
नगरप्रमुख चौधरीसँगको वार्ता निकै सकरात्मक भएकाले आफुहरु खुशी भएको र चौधरी बस्तम्मै गरीब सुकुम्बासीको पक्षमा चट्टान झै उभिने असल अभिभावकको रूपमा पाएको अनुभूति आफुहरुलाई भएको अध्यक्ष यादवले बताइन् ।